Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


खाेटाङ प्रशासनमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

एक्सन खबर
फागुन, १३, २०७८


खाेटाङ प्रशासनमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्था नहुँदा सेवा प्रवाहमा असहज भइरहेको छ । कार्यालय सहयोगीदेखि सहसचिवसम्म गरी २३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको पदपुर्ती नहुँदा सेवा प्रवाह कठिन भएको हो ।

नागरिकता, राहदानी लगायतको सेवाका लागि बाक्लो चाप हुने जिल्ला प्रशासन कार्यालयको दैनिक कामकाज हाल करारका नाै जना गरी १९ कर्मचारीले धानिरहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा सह–सचिव (रा.प. प्रथम श्रेणीको) प्रमुख जिल्ला अधिकारी रहनेगरी दरबन्दी कायम गरिएको थियो । त्यसयता प्रशासनमा शालिग्राम शर्मा पौडेलबाहेक अन्य सहसचिव तहका कार्यालय प्रमुख पठाइएका छैनन् । सहसचिवको पद रिक्त हुँदा उपसचिव (रा.प. द्धितिय) तहको सहायक प्रमुख जिल्ला अधिकारीले नै प्रमुख जिल्ला अधिकारीको भूमीका निर्वाह गर्दै आएका छन् ।

यस्तै, प्रशासकीय अधिकृत (रा.प. तृतीय)को दुईवटा दरबन्दीमध्ये एउटा दरबन्दी रिक्त छ । प्रशासकीय अधिकृतले नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, पाँच जना नासुको दरबन्दी रहेको प्रशासनमा एक जना नासुलाई काजमा ल्याएर पदपुर्ती गरिएको छ । प्रशासनमा एउटा लेखापालको दरबन्दी मात्र पुर्ती छ । दुई जना कम्प्युटर अपरेटरको रिक्त दरबन्दीमा करारमा कर्मचारी नियुक्ति गरेर पदपुर्ती गरिएको छ । तीन जना खरिदारको दरबन्दी रहेकोमा एक जनाको सरुवा भइसकेको र रमाना लिन मात्र बाँकी छ । हलुका सवारी चालकको एउटा दरबन्दीमा करारमा कर्मचारी राखिएको छ । यस्तै, कार्यालय सहयोगीको सात जनाको दरबन्दी रहेको कार्यालयमा एक जना स्थायी र अन्य करारका कर्मचारी कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामको भार परिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘दरबन्दीअनुसार कर्मचारी कम छन् । भएका पनि सरुवा लिएर जान खोजिरहेका छन्, सेवा प्रवाह असहज छ,’ सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘कामको चाप अधिक छ । कामको लोडका कारण अरु कर्मचारी आउन मान्दैनन् । लोकसेवामा आवश्यक कर्मचारी माग गरेका छौँ ।’

प्रशासनबाट सरुवा भएर जाने कर्मचारीले रमना पाउने अवस्था छैन । अन्य मन्त्रालय अन्तरगतको कार्यालयमा सरुवा जान चाहने कर्मचारीलाई गृहमन्त्रालयले सरुवा नदिएको कर्मचारी बताउँछन् । जसले कर्मचारीको मनोबलमा समेत ठेस पुर्‍याइरहेको छ । कतिपय कर्मचारी हत्तपत्त पहाडी क्षेत्रका कार्यालयमा जान मान्दैनन् । गए पनि बढुवा हुने नम्बरका लागि जान्छन् । कामको अधिक चाप हुने प्रशासन कमैको रोजाईमा पर्ने गरेको छ ।













0 प्रतिकृया