‘म पिडित हुँ’ भनेर नाबालिगले साहस देखाइन्’ प्रियंका कार्की
एक्सन खबर
काठमाडौं । नायक पल शाहमाथिको जवरजस्ती करणी आरोपमा नायिका प्रियंका कार्कीले पिडित गायिकाको पक्षमा बोलेकी छन् । कलाकार पल शाहले नाबालिग गायिकालाई ललाई फकाई पटकपटक करणी गरेको आरोपमा नेपाल प्रहरीले हिरासतमा लिएको पाँच दिनपछि प्रियंकाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नाबालिग गायिकाको पक्षमा उभिएकी हुन् ।
बिहीबार फेसवुकमा लेख्दै एक छोरीकी आमा समेत रहेकी प्रियंकाले नाबलिगले ‘म पिडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्न उठाउनु एक जिम्मेवार समाजको काम हुनै नसक्ने पनि बताएकी छन् । खासगरी टिकटक, युट्युवहरुमा नाबालिगको नामै टिकान गरेर भाइरल बनाइएकोमा उनले विरोध जनाएकी छन् । ‘ नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन ।’ प्रियंकाले भनेकी छन् ।
यस्तै प्रियंकाले नाबालिग गायिकाले ‘म पिडित हुँ’ भनेर साहस देखाएको पनि जिकीर गरेकी छन् । उनले भनेकी छन् ‘दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ । यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु ।’
उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको उल्लेख गर्दै प्रियंकाले नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि भएको जिकीर गरेकी छन् । साथै उनले कानुनलाई निष्पक्ष काम गर्न दिनुपर्ने नागरिकको कर्तव्य पनि रहेको बताएकी छन् ।
नायक पद शाह र नाबालिग गायिका विवादको प्रारम्भमा कलाकारहरु मौन बसेपनि २ दिनयता नाबालिग गायिकाका पक्षमा महिला कलाकार खुलेर लागेका छन् । नायिका ऋचा शर्मा, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, रेखा थापा लगायत बोलेका छन् । भने, पल शाह निर्दोश रहेको भन्दै नायिका पुजा शर्मा खुलेआम लागेकी छन् । उनले पल शाहले बलात्कार गर्नै नसक्ने सम्मको अभिव्यक्ति दिएपछि विवादमा आइरहेकी छन् । पुरुष कलाकारहरुले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
0 प्रतिकृया