Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


‘पल शाहमाथिको अनुसन्धानमा अवरोध नगराैं’ राष्ट्रिय मानव अधिकार आयोग

एक्सन खबर
फागुन, २०, २०७८


‘पल शाहमाथिको अनुसन्धानमा अवरोध नगराैं’ राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ । शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’

अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको आयोगले जनाएको छ ।

गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियोहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरू सार्वजनिक नगर्न आयोगले सबैलाई आग्रह गरेको छ ।

साथै अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पुर्याउन, आफूलाई प्राप्त प्रमाणहरू सार्वजनिक गर्नुको सट्टा अनुसन्धान अधिकारीहरूलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन विज्ञप्तिमा भनिएको छ ।

गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आयोगले अनुरोध गरेको छ ।














0 प्रतिकृया