उदयपुरमा गर्भवती महिलाको मृत्युपछि जिल्ला अस्पताल तोडफोड
एक्सन खबर
उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताकाे मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताकाे उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनकाे उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।
जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । 'नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयाे,' कार्कीले बताए । पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ ।
ओपिडि चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणकाे भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दै मृतकका आफन्तले नमानेका कारण सीताकाे मृत्यु हुन पुगेकाे बताउँछन् ।
विगतका दिनहरुमा पनि जिल्ला अस्पतालका डाक्टरहरुको लापरबाहीले सुत्केरी गर्न ल्याएकी महिलाहरुको मृत्यु भएको थियो । कुनै डाक्टरले आफ्नो क्लिनिक चलाउने, कसैले अरुको क्लिनिकमा गएर काम सेवाग्राही मर्कामा परिरहेका छन् ।
0 प्रतिकृया