Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


१६ सयभन्दा बढीको मृत्यु, १८ हजारभन्दा बढी घाइते

एक्सन खबर
फागुन, २६, २०७८


१६ सयभन्दा बढीको मृत्यु, १८ हजारभन्दा बढी घाइते

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीका अनुसार ती दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ हजार २३४ जना घाइते भएका छन् । यीमध्ये ४ हजार ३७ जना गम्भिर र १४ हजार १९७ जना सामान्य घाइते भएका थिए ।

उपत्यकामा बढी दुर्घटना

सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यका भित्र हुने गरेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा २ हजार १७८, मधेश प्रदेशमा  ३ हजार ४९, बागमती प्रदेशमा  (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् ।

यो अवधिमा देशभर सवारी दुर्घटनामा २२ हजार ५० वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमध्ये १० हजार ९३७ वटा काठमाडौं उपत्यकामा, ३ हजार २७७ वटा प्रदेश १ मा, ४ हजार ४६५ वटा मधेश प्रदेशमा, १ हजार ४१५ बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक), ३२० वटा गण्डकी प्रदेशमा, ९०७ वटा लुम्बिनी प्रदेशमा, २८८ वटा कर्णाली प्रदेशमा र ४४१ वटा सुदुरपश्चिम प्रदेशमा रहेका छन् ।

बढी ज्यान गुमाउने मधेश प्रदेशमा

सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भएको भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ ।

पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदुरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् ।

माेटरसाइकल बढी दुर्घटनामा परे

सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारी सधानमा ११ हजार २६७ वटा मोटरसाइकल, १ हजार ३७५ ट्रक तथा ट्याङ्कर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र स्काभेटर, १ हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, ५ हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारी साधन रहेका छन् ।

कुन समयमा हुन्छ बढी दुर्घटना ?

प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुनेगरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा ४ हजार ४६३ र राती १२ बजेदेखि विहान ६ बजेसम्म्को समयमा ६२० वटा दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रमुख कारण–तिव्र गति

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकको कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् । सोही अवधिमा सवारी साधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस वर्ष तिव्र गतिका कारण ६ हजार २५८ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादप पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।  













0 प्रतिकृया