Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


राेजगारीकाे अवसरै अवसर भएकाे ‘सिभिल एण्ड रुलर इन्जिनियरिङ’ कहाँ कसरी पढ्ने ?

अंशु अधिकारी


राेजगारीकाे अवसरै अवसर भएकाे ‘सिभिल एण्ड रुलर इन्जिनियरिङ’ कहाँ कसरी पढ्ने ?

काठमाडौं । इन्जिनियरिङ शिक्षामा संभावनै संभावना भएको विषय हो सिभिल एण्ड रुलर इन्जिनियरिङ । ठूल्ठूला भौतिक संरचना तथा आयोजनाहरु निर्माण गर्दा सिभिल एण्ड रुलर इन्जिनियरिङ गरेका जनशक्तिको महत्वपूर्ण भूमिका रहन्छ । जलविद्युत आयोजना, सडक, ठूला भवन निर्माण तथा ग्रामिण विकासमा सिभिल एण्ड रुलर इन्जिनियरिङको अनिवार्य आवश्यक हुन्छ ।

नेपालमा सिभिल एण्ड रुलर इन्जिनियरिङ शिक्षाको कुरा गर्दा पोखरा विश्वविद्यालय अन्तरगत आङ्गिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ र चाँगुनारायण भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज (नेक)मा मात्र यो विषय अध्यापन हुन्छ । सर्वप्रथम याे विषयकाे अध्यापन नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायणमा २०६५/०६६ सालबाट सुरू भएकाे हाे । याे विषयकाे लाेकप्रियताकाे कारण पाेखरा विश्वविद्यालयले २०७५ सालबाट विश्वविद्यालयकाे आङ्गिक क्याम्पसमा पनि अध्यापन थालेकाे छ । इन्जिनियरिङ पढेर सरकारी सेवामा प्रवेश गर्न चाहनेहरुका लागि सिभिल एण्ड रुलर महत्वपूर्ण विषय रहेको नेकका सिभिल एण्ड रुलर इन्जिनियरिङ विभागका विभागीय प्रमुख असिस्टेण्ट प्रोफेसर यमन ढकाल बताउँछन् । ‘कुनैपनि विकास निर्माण, आयोजना निर्माणको लागत स्टिमेटमा सिभिल इन्जिनियरिङको जति महत्व छ त्यत्तिकै सिभिल एण्ड रुलर इन्जिनियरको पनि भूमिका रहने गर्दछ ।’ विभागीय प्रमुख ढकाल भन्छन् ।

निजामती क्षेत्रमा अवसरै अवसर

पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र नेकमा मात्र यो विषय अध्यापन हुने भएकाले सिट संख्या सदैव प्याक हुने गर्दछ । नेकमा यो विषय सन् २००८ देखि अध्यापन हुन थालेको हो । नेकमा सिभिल एण्ड रुलर इन्जिनियरिङमा ४८ सिट छ । विभागीय प्रमुख ढकालका अनुसार नेपाल टेलिकम, दुरसञ्चार, निजामती सेवा, नेपाल विद्युत प्राधिकरण, नागरिक उड्डयन तथा स्थानीय निकायमा रुलर इन्जिनियरिङको माग बढ्दो छ ।



‘यो इन्जिनियरिङ विधाको महत्वपूर्ण विषय हो । नेपालमा सरकारी, गैरसरकारी क्षेत्रमा सिभिल एण्ड रुलर इन्जिनियरहरुको धेरै माग छ ।’ कतिपय अवस्थामा सिभिल एण्ड रुलर इन्जिनियरिङमा स्नातक गरेपछि आफैं कम्पनी खोलेर काम गर्न सकिने विभागीय प्रमुख ढकाल भन्छन् ।

नेकबाटै सिभिल एण्ड रुलर इन्जिनियरिङ गरेर आफ्नै कम्पनी खोली धेरैलाई रोजगारी समेत दिएका इ. हरि बरालका अनुसार सिभिल इन्जिनियरिङ गर्नेहरु सजिलै प्राप्त गर्न सकेपनि सिभिल एण्ड रुलर इन्जिनियरिङ गर्ने जनशक्ति कमै छन् । ‘संभावना धेरै भएपनि यसको पढाई सिमित कलेजमा मात्र भएकाले बजारमा सजिलै जनशक्ति पाउन सकिन्न । काम नपाउने भन्ने प्रश्नै उठ्दैन । ’ इ. बराल भन्छन् ।

ग्रामिण क्षेत्रकाे विकासमा सहयाेगी
रुलर इन्जिनियरिङ भन्ने वित्तिकै हाम्रै गाउँघरमा प्राप्त हुने श्रोत साधनलाई इन्जिनियरिङका हिसाबले विकास गर्ने भएकोले नेपालको ग्रामिण क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहन्छ । बागमती कन्ट्रयाक्टर एण्ड विल्डर्स कम्पनीका म्यानेजिङ डाइरेक्टरसमेत रहेका बरालको भनाईमा रुलर इन्जिनियरिङलाई अन्य विश्वविद्यालयहरुले पनि सञ्चालन गरी व्यवसायिकरण गर्न आवश्यक छ । सिभिल एण्ड रुलर इन्जिनियरिङलाई ग्रामिण क्षेत्रकाे विकासकाे मेरूदण्डका रूपमा लिन सकिन्छ ।

नेकबाटै सिभिल एण्ड रुलर इन्जिनियरिङ पुरा गरेका इ. सतिश साह यतिबेला नेपाल सरकारको सडक विभागमा कार्यरत छन् । नेकबाट अहिलेसम्म करिब ४ सय जनाले सिभिल एण्ड रुलर इन्जिनियरिङमा स्नातक पुरागरी नेपाल इन्जिनियरिङ परिषद्बाट प्रमाणपत्र लिइसकेका छन् ।


कस्ता विद्यार्थी पढ्न योग्य ?
सिभिल एण्ड रुलर इन्जिनियरिङ ८ सेमेष्टरको छ । विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका, सिभिल तथा इलेक्ट्रोनिक्समा डिप्लोमा गरेकाहरुले कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि यो विषय अध्ययन गर्न पाउँछन् ।

शैक्षिक गुणस्तर

शैक्षिक गुणस्तरको कुरा गर्दा नेक पोखरा विश्वविद्यालयकै सबैभन्दा राम्रो शैक्षिक क्यालेण्डर भएको कलेज हो । नेकको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरको भएकैले विश्वका विभिन्न विश्वविद्यालय र कलेजहरुले अध्ययन, अनुसन्धान र विद्यार्थी आदानप्रदानमा सहकार्य गरेका छन् ।  

अनुभवी तथा विद्यार्थीमैत्री प्राध्यापक, शहरको कोलाहल र प्रदुषण मुक्त शान्त तथा हरियाली वातावरण, सुविधासम्पन्न भौतिक पूर्वाधार, प्रयोगात्मक शिक्षणविधी नेकको प्रमुख विशेषताहरु हुन् । यसका अलावा नेकले सबै विषयमा पूर्णकालिन प्राध्यापकहरुको व्यवस्थापन गरेकाले विद्यार्थीले आफ्ना प्राध्यापकहरुसँग सजिलै विषयगत कुराकानी, छलफल गर्ने वातावरण समेत रहेकाे छ ।



छात्रबृत्तिको अवसर
पोखरा विश्वविद्यालयले नेकमा १० प्रतिशत छात्रबृत्ति दिएको छ भने, कलेजले पनि आफ्नो तर्फबाट विभिन्न शिर्षकमा छात्रबृत्ति दिने गरेको छ । हाल कलेजमा स्थानीय तह, प्रादेशिक तह, कर्मचारी कोटामा छात्रबृत्तिहरु रहेका छन् । यस्तै कलेजको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने तथा सेमेष्टर टपरलाई समेत छात्रबृत्तिहरु दिइने गरिएको कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ बताउँछन् ।

सर्वसुलभ शैक्षिक शुल्क
आठ सेमेष्टरको सिभिल एण्ड रुलर इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्न नेकमा १० लाख ३५ हजार शुल्क कायम गरिएको छ । सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना भएकाले पनि अन्य इन्जिनियरिङ कलेजको दाँजोमा नेकको शैक्षिक शुल्क सर्वसुलभ रहेको छ ।

सन् १९९४ मा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेजमा सिभिल एण्ड रुलर इन्जिनियरिङ सँगै सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्टिटेक्चर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा अध्ययनअध्यापन हुने गरेको छ ।












0 प्रतिकृया