Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


‘तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्’

एक्सन खबर
फागुन, ३०, २०७८


‘तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्’

प्रकाश सपुत
सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत 'पिर'का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु ।

गीतले भन्न चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ?  तपाईंहरु (केही) ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु ।

'पिर'बाट युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर, अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको  हौं । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं ! मलाई लागेको -यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना/मदन छन् कि छैनन् ?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेचमाथि बसेको अन्धो मान्छे ?


जसरी यसअघिका गीतहरु 'बोल माया', 'दोहोरी ब्याटल', 'गल्बन्दी', 'बदला बरिलै', 'फुटेका चुरा', 'मेरो पनि हैन र यो देश', 'कुरा बुझ्न पर्छ ' गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङ्कन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/पकाउने/पस्कने मध्येका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए । उनीहरु चरम निराशाबादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो ।

यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो 'पिर'। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें । केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र  भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।

एउटै  गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले  अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौंला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छभने म फेरि आत्मालोचना गर्छु ।  

यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु । माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना/मदन छन् कि छैनन् ?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेचमाथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो । अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन/गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि ?  म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ,  सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं  तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !  मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष/विपक्षमा एकोहोरो भइन्छ ।

नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौं ।तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ।  त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो।

भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरी पनि क्षमा चाहन्छु । यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु । कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौं ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं गित छन् ! तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।
प्रकाश सपुत, सर्जक













0 प्रतिकृया