धरानका डिएसपी कुँवर फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
एक्सन खबर
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ठ प्रहरी घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर रहेका छन् ।
डिएसपी कुँवरले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकाे बताइएकाे छ ।
साथै धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको र सडीगली रहेको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भई उक्त घटनामा संलग्न प्रतिवादीहरु तथा अन्य विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेकाे पनि जनाइएकाे छ ।
प्रदेश प्रहरीले कुँवरलाई आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले २०७८ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको जनाएका
छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आईएको छ ।
0 प्रतिकृया