Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पहिले श्रीमती थाहा छैन भने त्यसपछि शव नै देखाइदिए

एक्सन खबर
चैत, ५, २०७८


पहिले श्रीमती थाहा छैन भने त्यसपछि शव नै देखाइदिए

काठमाडौं । निशा थेबेलाई छरछिमेकीले बिहीबार दिनभर देखेनन् । अरुबेला खोपाङ्गे गाउँ डुल्थिन् उनी । फेरि, बुधबार उनीहरूको घरमा हो–हल्ला सुनिएको थियो । निशाको घरमा जाँदा उनी नदेखिएपछि प्रहरीलाई थाहा दिएको एक युवकले बताए । ‘अघिल्लो दिन रुने/कराउने सुनिएको थियो र घरमा जाँदा देखिइन् । नदेखिएपछि शंका लाग्यो र प्रहरीलाई थाहा दिएँ’, ती युवकले भने ।

निशा ३९ वर्षीया युवती हुन् । उनी रक्सी खान्थिइन् । श्रीमान् दिलिप त जहिल्यै खाने । उनीहरूबीच घरिघरी घरमा झगडा हुन्थ्यो नै । त्यही भएर कतै गम्भीर घटना त भएन ? त्यही लागेर प्रहरीलाई बेपत्ता भएको भनेर थाहा दिएको युवकले बताए ।

बेपत्ता भएको खबरपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले प्रहरी चौकी पौवासारताप र जिल्ला प्रहरी कार्यालयबाट निशाको खोजतलासमा संयुक्त टोली परिचालन गरे । टोलीले श्रीमान् दिलिपलाई अनुसन्धानको दायरामा ल्याए ।

प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार दिलिपलाई सुरुमा सोधिएको थियो–खै तपाईंको श्रीमती ? जवाफमा दिलिपले भने–थाहा छैन सर । फेरि, प्रहरीले प्रतिप्रश्न गर्दै सोध्यो–आफ्नै श्रीमती थाहा हुँदैन ? अन्ततः निकैबेरपछि श्रीमती निशालाई बुधबार रक्सी खाएर झगडा हुँदा हत्या गरेको प्रहरीसामु खुलासा गरे ।

हत्याको खुलासापछि भने प्रहरी टोलीलाई उनैले निशाको शव भएको ‘सार्की खोल्सा’ मा रहेको ओढार पु‍र्याए । जहाँ निशाको शव पत्करले छोपिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । घटनाको कारण रक्सी खाएपछि सामान्य विवाद भएको र सोही क्रममा घाँटी थिचेर हत्या गरेको खुलेको विश्वकर्माको भनाइ छ ।

हत्या आरोपी दिलिप अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । आइतबार जिल्ला अदालत पाँचथरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिने विश्वकर्माले बताए । उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने भएको छ ।













0 प्रतिकृया