Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


जसकाे सुरक्षार्थ खटिएकी थिइन् उनीहरूकै हातबाट मारिन पुगिन्

एक्सन खबर


जसकाे सुरक्षार्थ खटिएकी थिइन् उनीहरूकै हातबाट मारिन पुगिन्

मोरङ । कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन । पुरै शोकमा थियो । त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए । प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो । त्यही बेला सबैको मन भक्कानियो । कर्तव्यपालनका क्रममा एक राष्ट्रसेवक प्रहरी जवानको शवलाई अन्तिम बिदाइ चल्दै थियो ।

सबै सहकर्मीमा निराशा मात्र थियो । जसको सुरक्षार्थ खटिएका थिए, उनीहरूकै हातबाट मारिन पुगिन् । अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिरहँदा सहकर्मीहरू मलिन अनुहारमा थिए । सन्नाटा छाएको थियो ।

घरपरिवार आफ्नो मान्छे गुमाउँदाको पीडाले छटपटाइरहेका थिए । भावविहोल थिए । त्यहीबीच मोरङको लेटाङमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्पगुच्छा अर्पण गरे ।

प्रमुख जिल्ला अधिकारी दाहालसँगै प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी तथा उर्मिलाका सहकर्मीहरूले पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे र भौतिक शरीरसँग अन्तिम बिदाइ गरे ।  

श्रद्धाञ्जलीपछि उर्मिलाको शव उदयपुरको त्रियुगामा रहेको परिवारले लिएर गएको छ । उनको अन्त्येष्टि उदयपुरमै गरिनेछ ।

लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा स्थानीयसँगको झडपमा प्रहरी जवान उर्मिलाको निधन भएको थियो । एक शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपकै क्रममा उनको घाँटीमा चक्कु प्रहार गरिएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उर्मिलाको कोसी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो ।

१३ वर्षीया छात्रालाई यौन हिंसा गरेको भन्दै प्रहरी उनलाई पक्राउ गर्न लेटाङ पुगेको थियो । तर, स्थानीयले दोषीलाई बचाउने खेलमा लागेको भन्दै जनकारबाही गर्नुपर्ने भन्दै उनलाई त्यहाँबाट लैजान दिएका थिएनन् । राति प्रहरीले जबरजस्ती लैजान खोज्दा झडप भएको थियो ।

थोरैको संख्यामा रहेका प्रहरीलाई स्थानीय प्रदर्शनकारीले घरेलु हतियार तथा लाठी प्रहार गरेर भगाएका थिए । त्यही क्रममा प्रहरी जवान उर्मिलामाथि चक्कु प्रहार भएको थियो ।

६ जनालाई पक्राउ

आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान  प्रक्रिया अगाडि बढाएको छ ।’ दाहालले भने ।

प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ ।  













0 प्रतिकृया