‘पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्याउनुपर्छ’ राष्ट्रपति
एक्सन खबर
काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो ।
सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो । सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलाे पटक विश्व जल दिवस मनाइएको थियो । मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ । जलको अभावमा बाँच्न असम्भव छ । जसकारण जल महत्वपूर्ण छ ।
वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भाेग्नु परेकाे छ । अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्काे मारिरहेकाे छ । जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ।
विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्,जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ ।
पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ : राष्ट्रपति
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्याउनुपर्ने बताएकी छन् ।
विश्व पानी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।’
भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा रहेकाे उल्लेख गर्दै भण्डारीले भनेकी छन्, 'जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’
‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ सरकारले पानी दिवस मनाउँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई पानी दिवसका रूपमा मनाइन्छ ।
0 प्रतिकृया