‘नेकपा एमालेसँग मात्र समाजवादको एजेण्डा रहेको छ’ भगवती चौधरी
एक्सन खबर
सुनसरी । समाजवादको लक्ष्य पुरा गर्न नेकपा एमालेलाई स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा सरकार गठन गर्ने गरी मत दिनुपर्ने नेतृ भगवती चौधरीले बताएकी छन् । शिक्षा, स्वास्थ्य, यातायात लगायत जनताका आधारभूत तत्वहरु जनताकै घरदैलोमा पुगेपछि मात्र समाजवाद आउने बताउँदै नेकपा एमालेकी केन्द्रीय सदस्य चौधरीले अबको निर्वाचनहरुमा एमालेलाई स्पष्ट बहुमत चाहिने बताईन् ।
नेकपा एमाले बर्जुस्तरीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक मधेसी संगठन, मुस्लिम इत्तेहाद संगठन, उत्पिडित जाति मुक्ती समाजको संयुक्त भेला तथा कमिटी गठन कार्यक्रममा बोल्दै नेतृ चौधरीले जनताका घर आँगनमा स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, आधुनिक तथा बैज्ञानिक कृषी प्रणाली आवश्यक भएको बताउँदै त्यसकालागि स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा नेकपा एमालेको सरकार हुनुपर्ने बताइन् । ‘नेकपा एमालेसँग मात्र समाजवादको एजेण्डा र लक्ष्य रहेको छ । संमृद्ध नेपाल सुखी नेपालीको सपना रहेको छ । मुलुकमा समाजवाद स्थापना गर्न पुनः एकपल्ट नेकपा एमालेलाई सरकारमा पुर्याउनु पर्छ ।’ चौधरीले भनिन् ।
५ वर्षको स्थायी सरकार बनाउन विगतमा जनताले म्याण्डेट दिएपनि विभिन्न देशीविदेशी शक्तिहरुको कारण दुई तिहाई निकटको शक्तिशाली कम्युनिस्ट सरकार ढलेको दावी गर्दै नेतृ चौधरीले अबको निर्वाचनमा एमाले एक्लै लड्ने र ऐतिहासिक जित हासिल गर्ने समेत दावी गरिन् ।
कार्यक्रममा नेकपा एमालेका बर्जु गाउँपालिका न्चार्ज विनोद चौधरी, सह–इन्चार्ज धर्मेन्द्र राय, प्रदेश सदस्य तथा मधेशी संगठन अध्यक्ष रामप्रसाद मेहता, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका टीका लिम्बु तथा पार्टी जिल्ला सचिब परशुराम यादव समेतले बोलेका थिए ।
कार्यक्रममा बर्जु गाउँपालिकाका आम जनता, महिला दिदिबहिनी तथा नेकपा एमालेमा आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
0 प्रतिकृया