सुनसरी क्षेत्र नं. १ मा कांग्रेसको संगठन निर्माण र सुदृढीकरण अभियान सार्थक बन्दै
एक्सन खबर
धरान । नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको क्षेत्रीय कार्यसमितिले वडावडामा पार्टीे संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई तिब्रता दिएको छ । हालसम्म धरानको वडा नं. ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० तथा रामधुनी नगरपालिकाको ७ नं. र बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ मा अभियान सम्पन्न भईसकेको छ ।
पछिल्लो समय धरान उपमहानगरपालिकाको वडा नं. ६ र ७ मा सम्पन्न भएको छ । कांग्रेसको वडावडामा संगठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
फागुन १ गतेदेखि जारी अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा हुनेछ । अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवा पुगेको क्षेत्रीय सभापति तामाङले दावी गरे ।
धरान ७ मा भएको कार्यक्रममा क्षेत्रीय सचिव महेन्द्र प्रधानले अब परिक्रमी गणेश प्रवृत्तिलाई होइन परिश्रमी कुमार प्रवृत्तिलाई प्रोत्साहन र मूल्यांकन गर्नुपर्ने बताए । क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठले वडा समिति र टोल समितिमा बस्ने सबै पदाधिकारी र सदस्यहरुले आफ्नो कर्तव्य र अधिकार बुझ्नु पर्ने बताउँदै एक अर्कामा सहयोगी भावना हुनुपर्ने बताए ।
प्रदेश १(१) का सहसचिव रमिता श्रेष्ठले वडामा १ भोटले चुनाव हार्नुको पिडाबाट मुक्त हुन सबै एक भएर अघि बढ्नुको विकल्प नभएको बताईन । पूर्व वडा सभापति समरकुमार बम्जनले यसपालीको चुनावमा पार्टीबाट जोसुकै उठेपनि पूरा साथ दिनुपर्ने बताउँदै समय सापेक्ष र सान्दर्भिक कार्यक्रम लिएर क्षेत्रीय नेतृत्वहरु वडामा आएकोमा प्रशंसा गरे ।
वडा सभापति सुवर्णमोहन पलिखेले वडाको वलवुताले भ्याएसम्म पार्टी कार्यालय सञ्चालन गर्ने, टोल कमिटि गठन गर्ने लगायत कार्यक्रमहरु गर्दै आएको र क्षेत्रीय समितिको संगठन सशक्तिकरण र सुदृढिकरण अभियानले थप उर्जा मिलेको बताए ।
धरान ६ मा भएको कार्यक्रममा क्षेत्रीय सचिव केशव पुरीले कांग्रेस र कम्युनिष्टको फरक थाहा पाउनुपर्ने बताए । उनले पशुपति शर्माको लुट्न सके लुट कान्छा लुट बोलको गीत र प्रकाश सपुतको पीर बोलको गीत माथि प्रतिबन्ध लगाउने कम्युनिष्टहरु सधै झुटको खेती गर्ने भएकाले सत्यतथ्य यर्थाथतासँग सधै डराउने गरेको बताए ।
क्षेत्रीय सल्लाहकार कर्णबहादुर कार्कीले वडामै सहमति गरेर उम्मेदवार चयन गर्न सकेमा चुनाव जित्न सहज हुने बताए । नगर सदस्य रुपेश भट्टराईले अन्तरघात भएकै कारण चुनावमा हार व्यहोर्नु परेको भन्दै अब कसैले पनि अन्तरघात गर्न नहुने, स्थानीय तहको चुनावमा जनताले व्यक्ति समेत हेर्ने भएकाले सही उम्मेदवार समयमै छनौट गर्नुपर्ने जनाए ।
नगर सदस्य राम विष्टले प्रशिक्षणका कार्यक्रम राख्नुपर्ने र नेताले नेतालाई होइन कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने बताए । नगर सल्लाहकार पर्शुराम केसीले क्षेत्रीय समितिले संगठन सशक्तिकरण र सुदृढिकरणका लागि अघि सारेका बुँदा र अभियानले चुनाव जित्ने आत्मविश्वास बढेर आएको बताए ।
वडा सभापति पदम पौडेलले यसपटक सकेसम्म वडामै सहमति गरेर उम्मेदवार चयन गर्ने र चुनाव चिन्ह रुखमा जस्ले चुनाव लड्छ आफ्ना गुनासाहरु भएपनि सबैकुरा विर्सेर जिताउन लाग्नुपर्ने बताए ।
0 प्रतिकृया