Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


विदेशबाट पठाएकाे पैसा मनि ट्रान्सफर सञ्चालकले नै झ्वाम पारे

एक्सन खबर
चैत, १५, २०७८


विदेशबाट पठाएकाे पैसा मनि ट्रान्सफर सञ्चालकले नै झ्वाम पारे

काठमाडौं । घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा-२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए ।

श्रीमतीलाई पैसा लिन पठाए-मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् । मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ फेरि गइन् तर पाइनन् । नपाएपछि उनी रिसाइन् र भनिन्, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ?

खत्रीले जवाफ दिए, पैसा लिन जान पाएको छैन । र, लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि- ‘सयकडा दुईले ऋण चलाएको छु ।’ यसको केही दिनमै उनी मनि ट्रान्सफरमा देखिन छाडे । हालसम्म उनी कहाँ छन् भन्ने पत्तो छैन ।

उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए । तर, उनीहरूले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।

मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् । यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठगिएका छन् । उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीविरुद्ध ठगी मुद्दामा किटानी जाहेरी दिएकी छिन् तर महाशाखाले नियन्त्रणमा लिन सकेका छैनन् ।

महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिए ।
 














0 प्रतिकृया