Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


एम्नेस्टी इन्टरनेसनल नेपालको तीसौँ साधारण सभा हुँदै

एक्सन खबर
चैत, १७, २०७८


एम्नेस्टी इन्टरनेसनल नेपालको तीसौँ साधारण सभा हुँदै

काठमाडाैं । एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले आफ्नो तीसौँ वार्षिक साधारण सभा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा चैत्र १८ र १९ गते हुने भएकाे छ। यस साधारण सभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी अनुमोदन गर्ने बताइएकाे छ। साथै, साधारण सभाले दुई वर्षको कार्यकालका लागि एम्नेस्टी नेपालको कार्यकारी बोर्ड र पुनरावेदन समितिको नयाँ नेतृत्व पनि चयन गर्नेछ।

देशभरीका एम्नेस्टी नेपालमा आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधिहरू समेत गरी ३०० भन्दा बढी सहभागीहरूले यस वर्षको साधारण सभामा सहभागिता जनाउने एम्नेष्टीले जनाएकाे छ ।

तीसौँ साधारण सभा विगतमा सम्पन्न अन्य साधारण सभाहरूभन्दा निकै फरक हुने बताइएकाे छ । यस साधारण सभामा सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न विशेष साधारण सभाद्वारा संशोधित विधानमार्फत संस्थाको गभर्नेन्समा आएको आमूल परिवर्तनपश्चात मताधिकार प्राप्त प्रतिनिधिहरूको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएकाे छ।

यसरी साधारण सभामा गरिएको युवा तथा समर्थक सदस्यहरूको समावेशीकरण तथा सहभागिताले एम्नेस्टी नेपालको सुशासन प्रक्रियालाई थप उदारीकरण र लोकतान्त्रिक बनाउने मात्र नभई आगामी दिनहरूमा स्पष्ट, सबल र स्पष्ट मानवअधिकार दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।  

 “साधारण सभाको उद्घाटन चैत्र १८ गते दिउँसो १ बजे धुलिखेल नगरपालिकाको सभा हलमा हुनेछ,” एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने,-“साधारण सभाको उद्घाटनपछि बन्द सत्रको कार्यक्रम रहेको छ जसमा एम्नेस्टी नेपालका प्रतिनिधिहरूले गत वर्षमा गरिएको मानवअधिकारसम्बन्धी कार्यहरूको प्रभावको बारेमा समीक्षा गर्नुका साथै सन् २०२२ का लागि संस्थाको बजेटलगायत प्राथमिकताहरूको निर्धारण गर्नेछन्। उक्त बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदनलाई छलफल गरी अनुमोदन गर्ने तथा केही मानवअधिकारसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल चलाई पारित गर्ने कार्यक्रमसमेत रहेको छ।”

 बन्द सत्र पश्चात बेलुकी ५.३० बजे नेपालमा हिरासतमा हुने मृत्युका घटनाहरू रोक्नका लागि एम्नेस्टी नेपालले जारी राखेको अभियानसम्बन्धी एम्नेस्टी नेपालमा आबद्ध काठमाडौँ विश्वविद्यालय युथ नेट्वर्कका सदस्यहरूले "हिरासतमा हुने मृत्यु" विषयमा एउटा नाटक प्रदर्शन गर्ने कार्यक्रम पनि रहेकाे छ। जसमा नेपालमा दुर्व्यवहारयुक्त अनुसन्धान प्रक्रियाको दौरान कसरी प्रहरी नियन्त्रणमा मृत्युका घटनाहरू घट्छन् र यी घटनाहरूमा कसरी कुनै पनि जवाफदेहिता स्थापित हुँदैन भन्ने कुरालाई झल्काइएको हुनेछ।

स्वतन्त्र, न्यायपूर्ण र निष्पक्ष अनुसंन्धानसमेतको माधायमबाट हिरासतमा मृत्युका घटनाहरू रोक्नका लागि एम्नेस्टी इन्टरनेसनल नेपालले नेपाल सरकारलाई तत्काल र प्रभावकारी आवश्यक कदमहरू चाल्न आग्रह गर्दै आफ्नो अभियान चलाई राखेको बताइएकाे छ ।

चैत्र १९ गते एम्नेस्टी नेपालको नयाँ नेतृत्व चयनका लागि प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन कार्यक्रमको निर्धारण गरिएको छ।

 













0 प्रतिकृया