दिनेश स्मृति प्रतिष्ठानद्वारा पोशाक वितरण (फाेटाे फिचर सहित)
एक्सन खबर
दुहवी । सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानले विद्यार्थीहरुलाई शैक्षिक पोशाक वितरण गरेको छ । सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाकी संरक्षक भगवती चौधरीले दिनेश स्मृति आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरिन् ।
सो अवसरमा बोल्दै पूर्वराज्यमन्त्री समेत रहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य चौधरीले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत कुराहरु राज्यको दायित्वमा पर्ने भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत नागरिकले पनि योगदान गर्न सक्ने बताइन् । शिक्षाको पहुँचबाट बञ्चित समुदायका बालबालिकालाई स्कूलसम्म पुर्याउन आधारभूत विद्यालयको स्थापना गरिएको बताउँदै चौधरीले आउँदा दिनहरुमा विद्यालयको अझै स्तरोन्नती गरिने बताइन् ।
श्रीमान स्वर्गीय दिनेश चौधरीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले उक्त क्षेत्रका दलित, मुसहर लगायत कमजोर आर्थिक अवस्था भएका विपन्न वर्गका समुदायका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिन आधारभूत विद्यालय नै सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष द्रव्यराज चौधरीले विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षा दिन पाउँदा सुखी लागेको बताउँदै २१ औं शताब्दीमा शिक्षा विनाको मान्छे अपुरो हुने बताए । आउँदा दिनहरुमा प्रतिष्ठानले शिक्षा, स्वास्थ्यसँगै सामाजिक, खेलकुदका क्षेत्रमा काम गर्ने बताए ।
सो अवसरमा प्रतिष्ठानकी सदस्य तथा फरवार्ड माइक्रोफाइनान्सकी हिरा थन्दार, करण चौधरी, विद्यालयका प्रधानाध्यापक अनुपम देवले बोलेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत एकसय १० जना विद्यार्थीहरुलाई पहिलो चरणमा सर्ट र पेन्ट वितरण गरिएको थियो । २ सातापछि पुनः पोशाक तथा शैक्षिक सामग्री वितरण गरिनेछ ।
पूर्वराज्यमन्त्री भगवती चौधरीले आफ्ना श्रीमान स्वर्गीय दिनेश चौधरीको स्मृतिमा २०६४ सालमा प्रतिष्ठान स्थापना गरेकी हुन् । सामाजिक, आर्थिक क्षेत्रमा सक्रिय स्वर्गीय चौधरी महिला आर्थिक शसक्तिकरणका अगुवा थिए । ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत महिलाहरुलाई संगठित गर्दै आर्थिक अभियानमा जोडेका चौधरीको २०६४ असार १२ गते सवारी दुर्घटनामा अल्पआयुमै निधन भएको थियो ।
0 प्रतिकृया