Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, दुइ पक्राउ

एक्सन खबर
चैत, २२, २०७८


उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, दुइ पक्राउ

काठमाडाैं । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खाेलामा फालेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।  

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।  

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

यसैविच, घटनामा शंकास्पद दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू गाउँकै  एक  युवती र  एक  युवक छन् । पक्राउ पर्नेमा एकजना कवितासँगै पढ्ने साथी नाबालिका रहेको र उनका दाजु (बडाबाको छोरा) विनोद ढकाल छन् ।

प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको र शव पोस्टमार्टमको तयारी भइरहेको जनाएकाे छ ।













0 प्रतिकृया