Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


एएफसी कप २०२२: मछिन्द्र पहिलो चरणबाटै बाहिरियो

एक्सन खबर
चैत, २३, २०७८


एएफसी कप २०२२: मछिन्द्र पहिलो चरणबाटै बाहिरियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । मछिन्द्र मंगलबार श्रीलंकन सुपर लिग च्याम्पियन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा २–१ अन्तरले पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै गल्ती गरेनन् ।

२८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जाली दिशा दिए । इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।

त्यसअघि नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुनौलो मौका खेर फाले । मैदानको मध्यभागबाट विमल घर्तिमगरले निकालेको पासमा नुर्लानले वान अन वानमा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

१५औं मिनेटमा ब्लु स्टारले पाएको पेनाल्टी रोक्दै गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको ठुलो संकट टारे । डिफेन्डर ओमोलाजा करिमले सेनल सन्देशमाथि पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो । ब्लु स्टारका जेरी ओमबेबेले दाहिनेतर्फ गरेको प्रहार विशालले पन्च गरिदिए ।

दोस्रो हाफमा निरन्तर आक्रमण बुनेका मछिन्द्रले बललाई जाली चुमाउन भने सकेन । ४९औं मिनेटमा सुनिल बलले पेनाल्टी बक्स बाहिरको दायाँतर्फबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरियो ।

६०औं मिनेटमा सुनिलले प्रहार गरेको कर्नरमा करिमको हेडर बारमा लागेर फर्कियो । ६४औं मिनेटमा विमलले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार ब्लु स्टारका गोलकिपर काभेसले बचाए ।

६८औं मिनेटमा अभिषेक रिजालको क्रसमा विमलको हेडरमा फेरी बार बाधक बन्यो । बारबाट रिबाउन्ड भएको बलमा छिरिङ गुरुङले गरेको प्रहार ब्लु स्टारका कप्तान इरांगाले क्लियर गरिदिए । इन्जुरी समयमा रेजिन सुब्बाले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि मछिन्द्र अगाडी बढ्न सकेन । उनले मनिष डाँगीको क्रस पासलाई सदुपयोग गरेका थिए ।

खेलमा दुई हजार तीन सय ६९ आधिकारिक दर्शक उपस्थित रहेको आयोजक मछिन्द्रले जनाएको छ । मछिन्द्रलाई हराएसँगै ब्लु स्टारले छनोटको दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँगको भेट पक्का गरेको छ ।

एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेलेपनि गोल नहुँदा हार बेहोर्नु परेको बताएका छन् । खेलपछि बोलेका प्रवेशले भने, 'खेल पक्कै राम्रो थियो । राम्रो खेल्दा पनि सफल भएनौ । खेल जित्न गोल गर्नुपर्छ गोल भएन ।’
















0 प्रतिकृया