Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


‘चुनावी गठबन्धन खाए खा नखाए घिच हुँदैन’ कोइराला

एक्सन खबर


‘चुनावी गठबन्धन खाए खा नखाए घिच हुँदैन’ कोइराला

धरान । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु वीच चुनावी गठबन्धनको गृहकार्य भईरहेको वेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन ‘खाए खा नखाए घिच’ नहुने बताएका छन् ।

कांग्रेसको क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको वृहत प्रशिक्षण तथा घरघर जाऔं कांग्रेस जिताऔं कार्यक्रमलाई संवोधन गर्दै उनले स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् । उनले  १ नं. क्षेत्रीय समितिले वडावडामा अत्यावश्यक प्रशिक्षण कार्यक्रमहरु गर्दै पार्टी सशक्तिकरण गरेको बताउँदै सुनसरी क्षेत्र नं. १ ले छिट्टै मन्त्री पाउने पनि खुलासा गरे ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको इतिहास र सैद्धान्तिक प्रारुपका विषयमा प्रशिक्षण दिएका थिए । संघीय सांसद मीना सुब्बाले एमालेको दम्भ र दादागिरीले डुब्न लागेको देशलाई पार्टी सभापति शेरवहादुर देउवाको नेतृत्वमा बचाउने काम भईरहेको बताईन् ।

प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने बताए । प्रदेश महामन्त्री उमेश थापाले एम.सी.सी. नेपालको विकास र समृद्धिको पक्षमा ऐतिहासिक कदम भएको भन्दै खोक्रो राष्ट्रवादी कम्युनिष्टहरुले विभिन्न भ्रम फैलाएर तुहाउन खोजे कांग्रेसको समझदारीपूर्ण भूमिकाले सफल भएको बताए ।

जिल्ला सभापति केदार भण्डारीले क्षेत्रीय समितिले गरेको राजनीतिक र सांगठनिक गतिविधिले क्षेत्रभरी कांग्रेसको संगठन मजबुद बनेको र जनमत सिर्जना भएको बताउँदै स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु मध्येका उत्कृष्टले टिकट पाउने बताए ।

कार्यक्रममा जिल्ला उपसभापति नगेशचन्द्र राई, सचिव माधव घिसिङ, क्षेत्रीय उपसभापति तथा प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।













0 प्रतिकृया