नेकका शिक्षक विद्यार्थी मिलेर बनाएर एआइ डेलीभरी रोबोट
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा बिद्यार्थीहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित डेलिभरी रोबोट बनाएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्य र लागतमा डेलीभरी रोबोट तयार पारिएको हो ।
नेकका सह–प्राध्यापक सचिन श्रेष्ठका अनुसार यो हस्पिटलमा प्रयोग गर्न सक्छन् । कोभिड–१९ को पहिलो संक्रमणमा शुक्रराज ट्रपिकल अस्पताललाई समेत म्यानुअल डेलीभरी रोबोट बनाएर दिएको थियो । योपल्ट नास्टसँगको सहकार्यमा एआइ आधारित डेलीभरी रोबोट निर्माण गरिएको हो ।
यो रोबोटलाई खासगरी अस्पतालहरुमा प्रयोगमा ल्याउन सकिन्छ । ‘अहिले हामीले अस्पतालहरुमा प्रयोग गर्न सकिन्छ भनेर रोबोट तयार पारेका हौं । यसलाई नर्सहरुले आफ्नो कक्षमा बसेरै बिरामीहरुलाई आवश्यक औषधी तथा स्वास्थ्य सामग्रीहरु पुर्याउन प्रयोग गर्न सक्छन् ।’ सह–प्राध्यापक श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार रोबोटलाई अटोमेटिक तथा म्यानुअल दुवै मोडमा काम गराउन सकिन्छ । म्यानुअल मोडमा काम गराउनको लागि छुट्टै मोबाइल एप पनि बनाइएको छ । उक्त मोबाइल एपको मद्दतले यसलाई वायरलेसको माध्यमबाट आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर लान सकिन्छ । अटोमेटिक मोडमा भने यो आफैं आफ्नो गन्तब्यसम्म पुग्छ । त्यसकोलागि उक्त क्षेत्रमा रहेको सिसिटिभी, मुख्य कन्ट्रोल युनिट र रोबोट बिच वायरलेस नेटवर्क गरी मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।
नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको माध्यमबाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरु इङ्कित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरु निश्चित भएपश्चात रोबोट आफैं त्यो ठाउँहरुमा पुग्छ । साथै, नयाँ गन्तब्य इङ्कित नगरेसम्म उक्त ठाउँहरुमा नै घुमि रहनेछ ।
यसरी आफ्नो गन्तब्य पुग्ने क्रममा रोबोटले आफ्नो अगाडि कुनै छेकिने बस्तुहरु भेटेमा त्यसलाई छलेर अगाडी जानेछ । साथै अगाडी कुनै मान्छेहरु भेटेमा रोबोटले बाटो छोड्नको लागि स्पीकर मार्फत अनुरोध पनि गर्छ । ‘रोबोट आफैंमा रहेको क्यामेरामार्फत यसले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्दछ र एआइ टेक्नोलोजी मार्फत आफ्नो अगाडि मान्छे आएमा थाहा पाउँछ ।’ सह–प्राध्यापक श्रेष्ठ भन्छन् ।
यो रोबोटलाई अस्पतालहरुमा संक्रामक रोग लागेका बिरामीहरुको उपचारमा सहयोगीको रुपमा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, कोभिड–१९ संक्रमित बिरामीको उपचार गर्दा डाक्टर तथा नर्सहरु स्वास्थ्य मापदण्ड अपनाएरै बिरामीको उपचारमा संलग्न भएपनि उनीहरुमा पनि कोभिड संक्रमण हुन्थ्यो । डाक्टर नर्ससमेत कोभिड संक्रमणको जोखिममा परेका थिए । तर, त्यहाँ यस्ता रोबोटहरुको माध्यमबाट संक्रमित सम्म औषधी, खाना तथा अन्य स्वास्थ्य सामग्रीहरु पुर्याउने व्यवस्था भएको भए अस्पतालहरुमा काम गर्ने डाक्टर नर्सहरु सुरक्षित हुन्थे । आउँदा दिनहरुमा यस्ता महामारी पुनः देखा नपर्ला भन्न सकिन्छ, त्यस्तो बेला यो रोबोटलाई प्रयोग गर्न सकिन्छ ।
निर्माण गरिएको रोबोटले ३५ केजीसम्म सामान बोकेर लैजान सक्छ । यसलाई अझै अपग्रेड गरेर विभिन्न फिचर्सहरुपनि थप्न सकिने सह–प्राध्यापक श्रेष्ठको दावी छ । यसको लागत साँढे आठ लाख रहेको छ ।
डेलिभरी रोबोट निर्माण कार्यमा नेकको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागका सह–प्राध्यापकद्वय सचिन श्रेष्ठ र रुपेश दहि श्रेष्ठ, कम्प्युटर एण्ड साइन्स इन्जिनियरिङ विभागका सह–प्राध्यापक दिनेश डंगोल तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका उप–प्राध्यापक अभिनाश खत्री केसी प्रमुख सदस्यका रुपमा संलग्न थिए ।
यसैगरी, विद्यार्थीका तर्फबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सब खड्का रहेका थिए । भने, यस बाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशिल श्रेष्ठ लगायतको पनि भूमिका रहेको सह–प्राध्यापक रुपेश दहि श्रेष्ठले बताए ।
0 प्रतिकृया