Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’

एक्सन खबर
चैत, २६, २०७८


‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बाेल्दै  उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको बताए ।

अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताउँदै भने–‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने–‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’

उनले निलम्बित गभर्नर अधिकारी अर्थतन्त्र जोगाउनका लागि प्रयासरत रहेको जिकिर समेत गरे । ‘सरकारले गभर्नरलाई कारबाही गर्‍यो रे । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए, राष्ट्र सेवक, एउटा अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’ ओलीले भने ।

गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबीन समिति बनाएको आरोपसमेत ओलीले लगाए ।

यस्तै बागलुङमा आयोजित कार्यक्रममा बाेल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरे । प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने रणनीतिमा रहेकाे जिकिर गरे ।

उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । 'देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,' उनले भने ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताए । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।
















0 प्रतिकृया