कुलमान घिसिङ, माओवादी र गण्डकी प्रदेशका सभामुखलाई स्पष्टीकरण
एक्सन खबर
काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएको थियो । आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'तपाईंको समेत फोटो राखि नेकपा माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?' भनि सोधिएको छ ।
त्यस्तै गण्डकी प्रदेशका सभामुख अधिकारीलाई आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको लगत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भनि प्रश्न गरेको छ ।
आयोगले माओवादी केन्द्रसँग पनि जवाफ मागेको छ । ‘कुलमान घिसिङ, उनको तस्बिर प्रयोग गर्ने पार्टी र गण्डकी प्रदेश पोखराका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण सोधिएको हो,’ आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
0 प्रतिकृया