जग्गा भाडामा लिएर गुजारा चलाउने समिता कसरी करोडपति भइन् ? (भिडिओ सहित)
एक्सन खबर
सुनसरी । करिब १० वर्ष अगाडीसम्म समिता कुमारी माझीलाई साँझ खाए विहान के खाउँ भन्ने पिरलो मात्रै थियो । छिमेकीको घरआँगनमा दसैं तिहार, छठ जस्ता चाडपर्वको रौनक आउँदा उनको घरमा दुखः पिडा र गरिबीको बास हुन्थ्यो । मोरङ ग्रामथान गाउँपालिका तेतरिया विकासका दृष्टिकोणले खासै पछि नपरेपनि समिताका आँगनमा पुगेको थिएन ।
तीन दाजुभाईकी एक्ली छोरी भएपनि पढ्न पाइनन्, सायद घरकी जेठी छोरी भएकीले होला पढ्नभन्दा कामधन्धामा दिन विताउनु पर्यो । इमान्दार सोझो केटो पाएर विवाहको उमेर नपुग्दै आमाबुबाले विवाह गरि पठाइदिए । विवाहपछि त सुखका दिन आउला भनेको तर, उनलाई झनै दुखःले थिच्यो । घरमा खानका लागि एक छाक अन्न समेत भएन, कतिदिन भोकभोकै सुते बुढाबुढी । कतिदिन अरुको घरमा जनीबनी गरे । त्यसको लेखाजोखा समितासँग छैन ।
सानैदेखि मेहनत गर्न सिपालु समितालाई एकदिन धनसम्पत्ति जोड्छु सुखःसँग बस्छु भन्ने चाहना त थियो तर, कसरी कमाउने मेलोमेसो पाइरहेकी थिइनन् । ‘ढुंगा खोज्दा देउता’ भनेजस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विनाधितो सामुहिक जमानीमा ऋण दिन्छ भन्ने थाहा पाइन् । वर्षौंदेखि पैसाको अभावमा दुखःजिलो गर्दै निर्वाह गर्दै आएकी समितालाई १० हजार पाए जग्गा भाडामा लिएर भएपनि खेती गर्थे भन्ने लाग्यो ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै समिताले फरवार्ड लघुवित्त मार्फत कर्जा लिएर जग्गा भाडामा लिने अनी कमाएर तिर्ने दुखेसो फरवार्डका कर्मचारीलाई सुनाइन् । लघुवित्त कार्यक्रममार्फत महिलालाई आर्थिक शशक्तिकरणको अभियानमा जोड्दै आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तेतरिया शाखाले समिताको चाहनामा होस्टेमा हैंसे गर्ने निर्णय गर्यो ।
उनलाई फरवार्डले विनाधितो पहिलो पटक १० हजार कर्जा दियो । समिताले उक्त १० हजारले तेतरिया नहरकै छेउमा रहेको छिमेकीको ५ कठ्ठा जग्गा तीन वर्षकालागि भाडामा लिएर धान, गहुँ, तरकारी लगाइन् । ‘फरवार्ड बैंक आएको छ, सुरुमा बचत राख्नुपर्छ, ऋणपनि दिन्छ भनेर सुने । त्यसपछि फरवार्डको सरमिसलाई भेनेपछि मलाई १० हजार ऋण दिनुभयो । त्यसले जग्गा भाडामा लिएर खेती गर्न थालें ।’ समिता भन्छिन् ।
मेहनत गरे ‘मरुभूमीमा पनि सुन फल्छ’ भनेजस्तै फरवार्डले दिएको १० हजार ऋणले समितालाई जिवनमा केही गर्नसक्छु भन्ने आँट त दियो नै विहान बेलुकी के खाने ? भन्ने अवस्थाबाट माथि उकास्यो । पछि उनले भाडामा लिएको उक्त जग्गा नै किनीन् । ०७२ सालमा थप ७ कठ्ठा जग्गा जोड्न् ि। आज समिताको आफ्नै घर छ, कुखुरा, हाँस, बंगुर फार्म छ । किराना पसल छ । यो सबै फरवार्डबाट लिएको कर्जाको सही सदुपयोग गरेकाले भएको हो । १० वर्ष अगाडी १० हजार ऋण लिँदा आजको अवस्थामा पुग्छु भन्ने समितालाई थिएन तर, मेहनत गरे के हुँदैन र ? १० हजार सुरु भएको फरवार्डसँग समिताको सहकार्य आज लाखौंमा पुगेको छ ।
समिताले फरवार्ड माइक्रोफाइनान्सबाटै कर्जा लिएर घर बनाइन्, श्रीमानलाई बैदेशिक रोजगारीमा पठाइन्, पसल तथा पशु फर्म खोलिन् । श्रीमानले विदेशमा कमाउने आफु घरमै बसेर कृषि, पशुपालन र व्यवसायमा सक्रिय भएकैले उनले सफलता पाएकी हुन् । अहिले समिताको सफलता देखेर छिमेकीहरु प्रशंसा गर्छन् ।
त्यसो त, छोरी मान्छे साँझ विहान काम गर्न हिँडेको भएपनि अनर्थ लगाउने समाजमा थिइन् उनी । उनले काम गर्दा, अरुसँग एक बचन हाँसेर बोल्दा पनि कुरा काट्नेहरु थिए । तर, ती सबैका अगाडी केही गरेर देखाउने हुटहुटी थियो समितामा । त्यहि भएर श्रीमानले विदेशमा दुखः गर्दा उनलाई घरमा पलेंटी कसेर बस्न मन लागेन । दिनरात मेहनत गरेर श्रीमानलाई समेत बैदेशिक रोजगारीबाट फिर्ता बोलाएर गाउँघरमै काम गर्नुपर्छ भन्ने बनाइन् ।
हो, समिता कृषि कर्मबाटै एक दशकमा करोडौं सम्पत्तिको मालिक भएकी छिन् । जिल्लाकै नमुना महिला कृषी उद्यमी बनेकी छन् । यो सफलतामा श्रीमानले पनि उत्तिकै साथ दिएका छन् । बैंदेशिक रोजगारीबाट फर्किएर पछि श्रीमान श्रीमति एउटै रथका दुई पाङ्ग्रा जस्तै भएर मेहनत गरिरहेका छन् ।
त्यसो त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समिता जस्ता हज्जारौं महिलाहरुलाई उद्यमशिल बनाएको छ । फरवार्डको तेतरिया शाखा देशभरका शाखाहरुमा उत्कृष्ठ शाखाका रुपमा पुरस्कृत भएको छ । फरवार्डको तेतरिया शाखा विगत तीन वर्षदेखि महिलाहरुबाटै सञ्चालित छ । यहाँ शाखा प्रमुख देखी बजार प्रतिनिधिसम्म महिला मात्रै रहेका छन् ।
फरवार्ड माइक्रोफाइनान्सले लघुवित्त कार्यक्रम सञ्चालन गर्दा सुरुमै महिलाहरुलाई उद्यमशिल तालिम तथा कर्जाको कसरी सदुपयोग गर्ने भनेर तालिम पनि दिने गरेको छ । समिता जस्तै हज्जारौं महिलाहरुलाई गाउँगाउँमा वित्तीय साक्षरता दिएर ऋण प्रवाह गरेकाले पनि फरवार्डको कर्जा सूचक खराब छैन । आज देशभर फरवार्डका ३९ जिल्लाहरुमा १५९ शाखामार्फत २ लाख ७४ हजार भन्दा बढी महिलाहरु आर्थिक शशक्तिकरणमा जोडिएका छन् ।
खासगरी महिलालाई आर्थिक शशक्तिकरणमा जोड्दै समाज रुपान्तरणमा पनि लघुवित्त कार्यक्रमले योगदान पुर्याएको पाइन्छ । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीकै भनाईमा जिम्मेवारी वहन गर्ने सिलसिलामा महिलाहरु पुरुष भन्दा बढी जिम्मेवार र इमान्दार छन् ।
एउटा सफल ऋणी हुन इमान्दारिता पहिलो आवश्यक्ता हो । सँगै मेहनत गर्ने र व्यवसायिक दक्षता र कार्य योजना पनिभए सफलता प्राप्त हुने अध्यक्ष चौधरीको बुझाई छ । इमान्दारिता, लगनशलिता र कार्य योजनाहरु भए कुनैपनि कार्यमा सफलता पाउन सकिन्छ ।
लघुवित्त कार्यक्रमले ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई टेवा दिएको छ । अझैपनि देशका सबै क्षेत्रका गाउँघरमा वित्तीय साक्षरता तथा आर्थिक कार्यक्रम नपुगेको अवस्थामा लघुवित्त कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउनु अपरिहार्य छ । महिलालाई आर्थिक रुपमा कमजोर हुँदा महिला हिँसा बढ्ने गरेका छन् । महिलाहरुमा रहेको सीप, क्षमता र दक्षतालाई व्यवसायीकरण गर्ने हो भने समिता कुमारी माझीजस्ता लाखौं महिलाहरु देश विकासको मेरुदण्ड मात्र बन्ने छैनन् समाजमा विद्यमान महिला हिंसा, घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्नेमा दुई मत छैन ।
0 प्रतिकृया