चौथो जितसँगै बैंगलोर तेस्रो स्थानमा उक्लियो, मुम्बईकाे खराब प्रदर्शन
एक्सन खबर
काठमाडौं । दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।
शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो । बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले ५५ रनको योगदान गरे ।
जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा छ ।
मुम्बईको छैटौं हार
यता, मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।
२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन बनाउन सक्यो । मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०३ रन बनाए । यस्तै मनिष पाण्डेले ३८ रन बनाए ।
0 प्रतिकृया