Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


एमाले आजबाट आफ्नै भवनमा, यस्तो छ नयाँ पार्टी कार्यालय

एक्सन खबर


एमाले आजबाट आफ्नै भवनमा, यस्तो छ नयाँ पार्टी कार्यालय

काठमाडौं । नेकपा एमाले आजबाट आफ्नै भवनमा सरेको छ । थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । एक वर्षअघि मात्र थापाथलीमा पार्टी कार्यालय राखेको एमालेले आजदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सरेको हो ।

नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो । त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिए । वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उनको भनाइ छ ।

नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ । फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैँचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागत कक्ष राखिएको छ ।

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहरूका परिषद्, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ ।  

त्यस्तै दोस्रो तलामा केन्द्रीय विभागहरू, सचिवको क्याविन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगका प्रमुखसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिवका कार्यकक्ष पनि बनाइएको छ ।

सबैभन्दा माथिल्लो तलामा अध्यक्षको कार्यकक्ष बनाइएको छ । त्यस्तै उपाध्यक्ष र महासचिवको कार्यकक्ष पनि सबैभन्दा माथिल्लो तलामा बनाइएको छ । पश्चितपट्टी बनाइएको हलबाट अध्यक्षले लाइभ सम्बाेधन गर्ने व्यवस्था मिलाइएको छ । अत्याधुनिक सूचना प्रविधिको विकास गरेर बनाइएको उक्त हलबाट पार्टी अध्यक्षले लाइभ सम्बोधन गर्ने रिमालको भनाइ छ ।

निर्वाचन घाेषणापत्र सार्वजनिक

यस्तै, एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।

बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् लगायतका नाराहरू घाेषणापत्रमा समावेश गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।

१७ जना सम्मानीत

कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरिएकाे छ । सम्मानीत हुनेहरूमा पोखरा महानगरपालिका ६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानीमैयाँ नकर्मी, गोरखाका कुमार गुरुङलाई सम्मान गरेको छ ।

यसैगरी, लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएका पछि नेपाली कम्युनिस्ट बन्ने हरिप्रसाद शर्मा काफ्ले पनि सम्मानित भएका छ । भने, गायक रामकृष्ण दुवाल पनि सम्मानीत भएका छन् ।
 













0 प्रतिकृया