Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी’ कांग्रेस घोषणापत्र

एक्सन खबर
बैशाख, ११, २०७९


‘केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी’  कांग्रेस घोषणापत्र

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाको व्यापारी बताएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रिकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो । फलस्वरुप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटि वञ्चित मात्र गरेन, झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिमसमेत बढाएर गयो,’ घोषणापत्रमा भनिएको छ ।

यतिखेर निर्वाचनबाट प्राप्त जनादेश अनुसार सरकारमा नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षमा नेपाली कांग्रेस बसेर संविधानको कार्यान्वयन गर्न तीव्र प्रतिस्पर्धा भइरहेको अवस्था हुनुपर्नेमा दुर्भाग्यवश त्यस्तो हुन नसकेको कांग्रेसले जनाएको छ ।

‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउन होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समयमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुःखान्त हो,’ घोषणापत्रमा उल्लेख छ ।

सात दशकको अकल्पनीय सङ्घर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्भाव र सहिष्णुतालगायत सम्पूर्ण व्यवस्थामाथि नै ओलीको सरकारले सुनियोजित आक्रमण गरेको समेत घोषणापत्रमा जनाइएको छ ।

यस्तै, एमालेलाई सर्वाेच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वाेच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसको भनाइ छ । घोषणापत्रको १२औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ । 

‘एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी’ शीर्षकमा घोषणपत्रमा उल्लेख गरिएको छ : 

नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसै गरी नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । 

सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।

कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ । स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए ।

उनले अबको दशक सम्मुनतिको हुने बताए । जुन संकल्प पूरा गरिछाड्ने विश्वास पनि व्यक्त गरे । घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तवादको सूत्रपात’ भएको उल्लेख छ ।

एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे ।
 















0 प्रतिकृया