Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

एक्सन खबर
बैशाख, १२, २०७९


आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए  पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए ।

यसअघि एकै दिन मनोनयन दर्ता र उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्दा समयको चाप परेको उनको भनाइ छ । सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । निर्वाचन बैशाख ३० गते हुनेछ ।













0 प्रतिकृया