Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


इनरुवामा कांग्रेसले मुस्लिम समुदायलाई भुल्दा एमालेले उपमेयरमा दियाे टिकट

एक्सन खबर
बैशाख, १२, २०७९


इनरुवामा कांग्रेसले मुस्लिम समुदायलाई भुल्दा एमालेले उपमेयरमा दियाे टिकट

सुनसरी । स्थानीय तहकाे निर्वाचनमा आफ्नो समुदायको न्यायिक स्थानसहितको उपस्थिति पाउनेपर्ने माग राख्दै आएका इनरुवाका मुस्लिम समुदायलाई कांग्रेसले बिर्सिए पनि नेकपा एमालेले उपमेयरमा टिकट नै दिएर सम्मान जनाएकाे छ । कांग्रेसले इनरूवाका भाेट बैंकका रूपमा रहेका मुस्लिम समुदायलाई अपहेलना गर्दा एमालेले उपमेयरमा बबियाकी सहजादी परबिनलाई उमेदवार नै बनाइदियाे ।

कांग्रेसले अपहेलना गर्दा  दुःखी बनेका मुस्लिमहरुको घाउमा मल्हम लगाउँदै एमालेले उपमेयरमा सहजादी परबिनलाई चुनावी मैदानमा अगाडि सार्दा इनरूवाका तमाम मुस्लिम समुदाय एमाले प्रति नरम भएका छन् ।

इनरुवाको मतदातामा दोश्रो ठूलो संख्या रहेको मुस्लिम समुदायले विभिन्न दलसँग आसन्न निर्वाचनमा आफ्नो समुदायको न्यायिक सहभागिताको माग गर्दै आएको भएपनि यसपल्ट कांग्रेस चुक्याे । कांग्रेसले सकारात्मक आश्वासन दिँदै आएपनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गरेकाे मुस्लिम समुदायका अगुवाहरूकाे ठहर छ ।

कांग्रेसले इनरूवाका वडाहरुमा समेत मुस्लिम समुदायलाई न्यायिकरुपमा अटाउन नसकेको आरोप अगुवा मुस्लिमहरुले लगाइरहेका छन् । इनरुवाको मुस्लिम बाहुल्य वडामा समेत कांग्रेसले मुस्लिमलाई नपत्याएको आरोप मुस्लिम अगुवाहरुको छ ।

इनरुवा २ मा बाक्लो उपस्थिति रहेको मुस्लिम समुदायबाट एक जनापनि नसमेटिँदा त्यस वडाका कांग्रेस सचिब बहाब अन्सारीसहित आधा दर्जन कांग्रेसका वडा पदाधिकारीहरुले हिजै कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा दिइसकेका छन् ।

कांग्रेसले आफ्नो समुदायको बेइज्जत गरेको उनको भनाइ छ । यससँगै अन्य मुस्लिम बाहुल्य नगर तथा गाउँपालिकाका विभिन्न क्षेत्रमा मुस्लिम समुदायलाई बाइपास गरी अवसरबाट बन्चित गरेको आरोप सुनसरी कांग्रेसमाथि लागेको छ ।

इनरुवामा मुस्लिम समुदायको उपस्थितिबारे जानकार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इनरुवाको नगर उपप्रमुखमा मुस्लिम समुदायकी सहजादी परबिनलाई अगाडि सार्दै वडा नम्बर ९ र १० मा वडा अध्यक्षसमेत दिँदै हिजै निर्वाचन आयोगमा मनोनयनसमेत दर्ता गराइसकेको छ ।

१० हजारभन्दा बढी मुस्लिम मतदाता रहेको इनरुवामा कांग्रेसबाट समुदायले उचित स्थान नपाउनुलाई मुस्लिम अगुवाहरुले धोका भन्दै कडा प्रतिवाद गरेका छन् ।

इनरुवाका मुस्लिम अगुवा एवम् व्यवसायी नौसाद आलमले यसलाई मुस्लिमप्रतिको कांग्रेसी गद्दारीको संज्ञा दिएका छन् । उनले इनरुवाका अधिकांश मुस्लिम कांग्रेसमा रहेपनि नेतृत्वले न्याय दिन नसक्दा इनरुवामा मुस्लिम समुदाय माझ कांग्रेसको हैसियत समाप्त भएको प्रतिक्रिया दिए ।

उनीसँगै इनरुवाका मुस्लिम धर्मगुरुहरुले समेत मुस्लिमप्रति इनरुवामा कांग्रेसले देखाएको भेदभावपूर्ण व्यवहारले समग्र इनरुवाका मुस्लिम समुदाय दुःखित भएको बताएका छन् । धर्मगुरुहरुले इनरुवामा मुस्लिम समुदायलाई सम्मान गर्ने जोसुकैको पक्षमा लागी इनरुवामा मुस्लिम समुदायलाई निर्वाचित गराउन लागि पर्न अपिलसमेत गरेका छन् ।

इनरुवा मुस्लिम नागरिक समाजका अगुवा आमिर अली खानले इनरुवामा कांग्रेसबाट न्यायिक उम्मेदवारी मुस्लिम समुदायले नपाउनु दुःखद रहेको भन्दै अन्य दलहरुबाट उम्मेदवार बनेका मुस्लिम उम्मेदवारहरुको पक्षमा खुलेर लाग्न अनुरोध समेत गरेका छन् ।













0 प्रतिकृया