‘साँढेचार वर्ष पार्टीभित्र हेपे, अब एमालेमा बसेर काम गर्छु’ विजय सरावगी
एक्सन खबर
पर्सा । विरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले दलवलसहित भब्यताका साथ उम्मेदवारी दर्ता गराएका छन् । महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विजय सरावगी सहित उपप्रमुख तथा वडाध्यक्ष तथा अन्य पदहरुमा उम्मेदवारी दिएकाहरुले सोमबार जिल्ला स्थित निर्वाचन कार्यालय गएर मनोनयनपत्र दर्ता गराएका हुन् ।
जसपाबाट केही समय अगाडी मात्रै नेकपा एमालेमा प्रवेश गरेका सरावगीलाई पुनः मेयरमा जिताउन दिनरात खटेका बसुरुद्धिन अन्सारी, एमाले पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा लगायत मनोनयन दर्ता गर्न सयौंको संख्यामा नेता कार्यकर्ताहरु जिल्ला निर्वाचन कार्यालय पुगेका थिए ।
साँढे चार वर्ष विरगञ्जको प्रमुख भएर रहँदा तत्कालिन आफ्नो पार्टी जसपाले ठोस काम गर्न नदिएको बताउँदै सरावगीले बैशाख ३० गतेको निर्वाचनमा पुनः विजयी भएर अधुरा रहेका कामहरु पुरा गर्ने प्रतिबद्धता जनाए । ‘नयाँ नयाँ संविधान, कानुन थियो । सिंहदरबारको अधिकार मुल्गिनमा रोकेर राखिएको थियो त्यहि भएर जनताको आशा र अपेक्षा अनुसार काम गर्न सकिन । अब अधुरा रहेका कामहरु गर्नेछु ।’ सरावगीले भने ।
विरगञ्ज शहरको विकास र सडक विस्तारमा सर्वोच्च अदालतबाट मुआब्जाको विषयमा निर्णय भएर आएपछि संघ सरकारको सहयोगका अगाडी बढाउने तथा चिस्यान केन्द्रको विषयमा डिपिआर बनाउन सरकारसँग अनुरोध गरिएको र आउँदा दिनहरुमा अगाडी बढाउने सरावगीले बताए । महानगरको फोहर व्यवस्थापन, ढल निकास, व्यवस्थित शहरी क्षेत्र निर्माण गरी विरगञ्जलाई समुन्नत शहरका रुपमा लैजाने आफुले योजना बनाएको र त्यो सबै आउँदो निर्वाचनबाट जित हासिल गरेर पुरा गर्ने बताए ।
उनले विगतमा साँढे चारवर्ष जसपामा रहँदा आफुलाई पार्टीले हेप्ने मात्र काम गरेको बताउँदै पटकपटक पार्टीमा राजिनामा पनि दिएको जिकीर गरे । नेकपा एमालेसँग देश बनाउने प्रष्ट धारणा रहेको जिकीर गर्दै चुनाबमा ऐतिहासिक जित हासिल गर्ने दावी गरे ।
बिरगञ्जमा एमालेले लोसपासँग गठबन्धन गरेको छ । मेयरमा एमालेबाट सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा लोसपाबाट पुरुषोत्तमलाल झाको उम्मेदवारी रहेको छ ।
पछिल्लो समय मधेश प्रदेशमा नेकपा एमालेले राम्रो छवी बनाउँदै गएको छ । एमालेलाई मधेश विरोधी पार्टी भनेर विगतमा चित्रित गरिएपनि पार्टी अध्यक्ष केपी शर्मा ओली नै मधेशका प्रमुख क्षेत्रमा गएर भ्रम चिर्ने काम गरेकाले यो पल्ट मधेशमा एमालेले ऐतिहासिल जित हासिल गर्ने नेकपा एमाले २ नं. प्रदेश सदस्य बसुरुद्धिन अन्सारीले बताए । पर्सा जिल्लालाई लालकिल्ला बनाएरै छाड्ने नेता अन्सारीको दावी छ । ‘यो पल्ट विरगञ्जलाई मात्रै हैन पुरै पर्सा जिल्लालाई लालकिल्ला बनाएर छाड्छौं ।’ अन्सारीले भने । फाेटाे मन्सुर खान
0 प्रतिकृया