Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


कांग्रेसले उपेक्षा गरेपछि इनरुवाको निर्णायक मत एमालेलाई

एक्सन खबर
बैशाख, १४, २०७९


कांग्रेसले उपेक्षा गरेपछि इनरुवाको निर्णायक मत एमालेलाई

इनरुवा । आसन्न स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाभित्र दोस्रो धेरै मतदाता रहेका मुस्लिम समुदायको प्रतिनिधित्व नेपाली कांग्रेसले नगराएको भन्दै वडा नम्बर १०को जलपापुरमा मंगलबार  कांग्रेसको झण्डा जलाइएको छ।

इनरूवामा प्रमुख उपप्रमुखलगायतका पदका लागि मुस्लिम समुदाय निर्णायक भोट बैंक मानिन्छ। यस पटक प्रमुख दल मध्ये नेकपा एमालेमा उपप्रमुखको उम्मेदवार नै मुस्लिम समुदायको बनाइएका कारण जनमत त्यतै ढल्किने प्रक्षेपण गरिएको छ। कांग्रेसले मुस्लिम समुदायलाई उपेक्षा गरेकाे भन्दै सर्वत्र विराेध भइरहेकाे छ । मासवेस पार्टीले सबैलाई अटाउन नसकेकाे भन्दै स्वयं कांग्रेसीहरूले जिल्ला र प्रदेशका नेतृत्वसँग असन्तुष्टी व्यक्त गरेका छन् ।

चुनावमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि कांग्रेसलगायतका प्रमुख दललाई स्थानीय युवाले दबाब दिएका थिए। तर, गठबन्धनको भागवण्डाका नाममा मुस्लिम समुदायलाई उपेक्षा गरिएको भन्दै विरोध भएको छ।

मुस्लिम समुदायको मतलाई आफूतिर तान्नेगरी एमालेले इनरुवाको उपप्रमुख पदमा सहजादी परबिनलाई मैदानमा उतारेको छ। प्रमुख पदमा सरोज पोखरेललाई एमालेले उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसले सकारात्मक आश्वासन दिँदै आएपनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गरेको थियो। कांग्रेसले वडाहरुमा समेत मुस्लिम समुदायलाई न्यायिकरुपमा अटाउन नसकेको आरोप इनरुवाका अगुवा मुस्लिमहरुले लगाइरहेका छन्।

इनरुवा–२ मा बाक्लो उपस्थिति रहेको मुस्लिम समुदायबाट एक जनापनि नसमेटिँदा त्यस वडाका कांग्रेस सचिब बहाब अन्सारीसहित आधा दर्जन वडा पदाधिकारीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिइसकेका छन्। मंगलबार पनी सो वडाका ८५ जना कांग्रेसका कृयाशिल सदस्यले सामुहिक राजीनामा दिएका छन् ।

एमालेले इनरुवाको नगर उपप्रमुखमा मुस्लिम समुदायकी सहजादी परबिनलाई अगाडि सार्दै वडा नम्बर ९ र १० मा वडा अध्यक्षसमेत दिँदै निर्वाचन आयोगमा मनोनयनसमेत दर्ता गराइसकेको छ ।

१० हजारभन्दा बढी मुस्लिम मतदाता रहेको इनरुवाको यो निर्णायक मतसंख्या हो। ‘कांग्रेसले मुस्लिम अल्पसंख्यकलाई महत्व दिएन। हामीले कांग्रेसलाई जिताउँदै आएका थियौं। तर, अब परिणाम फरक हुन सक्छ’ मुस्लिम अगुवा एवम् व्यवसायी नौसाद आलमले भने,‘इनरुवाका अधिकांश मुस्लिम कांग्रेस रहेपनि कांग्रेसले न्याय दिन नसक्दा इनरुवामा मुस्लिम समुदायमा कांग्रेसको हैसियत सकिएको छ।’

इनरुवा मुस्लिम नागरिक समाजका अगुवा आमिर अली खानले कांग्रेसबाट न्यायिक उम्मेदवारी मुस्लिम समुदायले नपाउनु दुःखद रहेको भन्दै अन्य दलहरुबाट उम्मेदवार बनेकालाई सहयोगको अपिल समेत गरिसकेका छन् ।













0 प्रतिकृया