शुक्रबारसम्म मतपत्र ढुवानी सकिने, १ करोड ९४ लाख मतपत्र छापियाे
एक्सन खबर
बैशाख, २१, २०७९
काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेश प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए ।
हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ । स्थानीय तह निर्वाचन हुन भने अबको ९ दिनमा हुनेछ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।
निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।
स्थानीय तहकाे निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारकाे मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ ।
आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।
शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।
0 प्रतिकृया