आश नारायण चौधरीको प्रतिबद्धताः ब्यवस्थित बसोबास, भूमिहिनलाई आवास
एक्सन खबर
दुहबी । सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने गढी गाउँपालिका विकासका दृष्टिकोणले पछि परेको गाउँपालिका हो । दुहबी नगरपालिका मुख्य बजारबाट करिब ७ किलोमिटर उत्तर दक्षिणमा पर्ने यो क्षेत्र २०४६ सालपछि पटकपटक उपप्रधान सहित मन्त्री भइसकेका कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र भएपनि विकासका आधारभूत आवश्यकताबाट विमुख भएको गाउँपालिका हो ।
यही क्षेत्रलाई विकाससँगै आर्थिक समृद्धिसँग जोड्ने अभियान लिएर फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को पद समेत माया मारेर राजनीतिमा उत्रिएका छन् आश नारायण चौधरी । गढी क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत सबै हिसाबले विकास गर्न सकिन्छ भन्ने ठोस कार्ययोजनासहित बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा होमिएका आश नारायणले गढी गाउँपालिकाको मुहार फेर्ने गरी योजनाहरू बनाएको दावी गर्छन् ।
आश नारायण चौधरी गढीका लागि मात्र हैन समग्र सुनसरीकै लागि नयाँ नाम हैन । उनी एमाले नेतृ पूर्वराज्यमन्त्री भगवती चौधरीका भाइसमेत हुन् । फरवार्ड माइक्रोफाइनान्स मार्फत भोक, अशिक्षा र गरिबीसँग जुधिरहेका जनतालाई आर्थिक सशक्तिकरणको अभियानमा सङ्गठित गर्दै आएका आश नारायणले गढी गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने अठोट लिएका छन् ।
‘मैले गढी गाउँपालिकामा उम्मेदवारी दिइरहँदा यो क्षेत्रको विकासको लागि खासै ठूल्ठूला सपना देखेको छैन । एउटा नागरिकलाई सहज रुपमा जीवन चलाउन समाजमा कस्ता प्रकारका पूर्वाधार र विकास चाहिन्छ ति कुराहरू पूर्ति गर्ने/गराउने योजनाहरू मात्र रहेका छन् ।’ गढी गाउँपालिकाको आर्थिक, सामाजिक, भौगोलिक अवस्थासँग साक्षात्कार आश नारायणले जनजिविकाका आधारभूत तत्त्वहरू पुरा गरे गढीको समग्र विकास गर्न सकिने बताए ।
उनले गाउँपालिकालाई व्यवस्थित बनाउँदै त्यहाँ शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, कृषि आधुनिकीकरण प्रत्यक्ष जनतासँग जोडिने विकासका योजनाहरू बनाएका छन् । गढी क्षेत्रमा अव्यवस्थित बसोबास बढी छ । त्यसमा पनि भुमिहीनहरुको समस्या पनि जोडिएकाले अहिले बसोबास गरेकालाई व्यवस्थित गर्ने, भूमिहीनलाई स्थायी आवासको व्यवस्थापन गर्ने लक्ष्य लिएका छन् ।
‘गढी गाउँपालिकामा एउटा मात्र समस्या छैन, शिक्षाको पहुँच सबै वर्ग समुदायले पाएका छैनन्, स्वास्थ्य सेवा लिन कि विराटनगर जानुपर्छ कि धरान । सडक सञ्जाल दयनीय छ । कृषिको प्रचुर संभावना भएपनि पर्याप्त सिंचाई अभाव तथा आधुनिक कृषि प्रणाली अवलम्बन गर्न नसक्दा जनताले लाभ पाउन सकिरहेका छैनन् । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने सरकार भएपनि यहाँका जनताले त्यो अनुभूति गर्न पाएका छैनन् ।’ चौधरी भन्छन् ।
गढी गाउँपालिकाका जनताको अर्को समस्या हो सडक सञ्जाल गढीका सबै वडाहरुमा कालोपत्रे सडक छैन, भएका पनि जिर्ण भइसकेका छन् । साविक औराबनी, छिटाहा, मधेली र सत्तेरझोरा गाउँ विकास समितिहरूलाई समेटेर गढी गाउँपालिका बनाइएकोमा अहिले पनि ती सबै क्षेत्रसँग अन्तरसञ्जाल सडक छैन । गाउँपालिकामै सुविधासम्पन्न स्वास्थ्य संस्था छैन । तत्कालिन केपी शर्मा ओली सरकारले देशका ३९६ स्थानीय तहमा ५, १० र १५ वेड सहितको अस्पताल शिलान्यास गरेपनि गढी गाउँपालिकामा बनेको छैन ।
सुत्केरी अवस्थामा ब्यथा लागिहाले उपचार गर्न करिब डेढ घण्टा लाग्ने विराटनगरका महंगा अस्पतालहरुमा पुग्नुपर्छ कि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुपर्छ । ग्राभेल सडक, खाल्डाखुल्डीका कारण यातायातको आवागमन कम हुने भएकाले भन्ने वित्तिकै एम्बुलेन्स पाइँदैन । चौधरीले गाउँपालिकालाई स्वास्थ्य मैत्री बनाउने सोच राखेका छन् । सडकहरु स्तरोन्नती गर्ने, वडाहरुबाट दिइने सेवाहरु व्यवस्थित र प्रविधिमैत्री बनाउने उनको योजना छ ।
गाउँपालिका कृषि उत्पादनमा अब्बल छ । तर, आधुनिक कृषि प्रणाली अवलम्बन नहुँदा परम्परागत कृषि खेतीका कारण वर्षभरी खान लाउन हम्मे पर्दछ । यस्तो अवस्थामा गढीका युवाहरू कि वैदेशिक रोजगारीमा गएका छन् कि सुनसरी मोरङ औद्योगिक क्षेत्रमा ज्याला मजदुरी गरेर जिविकोपार्जनमा लागेका छन् । ‘सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्ने, आधुनिक कृषि औजारहरूको व्यवस्थापन गरी युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्दै गाउँमै रोजगारी सृजना गर्ने मेरो लक्ष्य हो ।’
डेढ दशकदेखि माइक्रोफाइनान्समा रहेर काम गरेकाले चौधरीसँग ग्रास रुटमा उद्यमशीलता र आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने मोडल रहेको छ । महिलामा रहेको परम्परागत सीपलाई व्यवसायिकरण गर्ने, नगदेबाली तर्फ जोड दिने, कृषि प्रोत्साहन कार्यक्रम उनका योजनाहरू हुन् ।
गढी गाउँपालिकामा अहिलेसम्म एउटै प्राविधिक शैक्षिक संस्था छैन । भएका सरकारी स्कूलहरु पनि दयनीय अवस्थाका छन् । चौधरीले यो समस्या हल गर्न सरकारी स्कुलको स्तरोन्नति गर्न सहकार्य गर्ने तथा पालिकामै एउटा राम्रो प्राविधिक स्कूल अथवा कलेज सञ्चालन गर्ने योजना बनाएका छन् । ‘कुनैपनि क्षेत्रको विकास गर्नुछ भने त्यहाँ प्राविधिक जनशक्ति सबैभन्दा पहिला उत्पादन हुनुपर्छ । यहाँ अहिलेसम्म सरकारी निजी कुनै क्षेत्रबाट पनि प्राविधिक जनशक्ति उत्पादन गर्ने स्कुल कलेज नभएकाले पालिकाले नै त्यसको अगुवाइ गर्दै कृषि, पशु तथा इन्जिनियरिङका प्राविधिक विषय पढाइ हुने स्कूल/कलेज खोल्ने सोच छ ।’ चौधरी जिकिर गर्छन् ।
उनले पालिकाका सबै वडाहरूमा उद्यमशीलता, स्वरोजगार तथा आर्थिक सशक्तिकरणको अभियान चलाउने, सामाजिक कार्यहरू गर्न प्रत्येक वडामा सामुदायिक भवनहरू निर्माण गर्ने, युवा, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि खेलकुदका आवश्यक पूर्वाधार निर्माण गर्ने, जेहेन्दार, गरिब तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई स्कुल कलेजमा छात्रवृत्ति व्यवस्थापन गर्ने योजना बनाएका छन् । भने, पालिका भित्र सामाजिक सचेतनाको अभाव न्यूनीकरण गर्न स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक, राजनीतिक विभेद हटाएर समुन्नत गाउँपालिका बनाउने सोच राखेका छन् ।
0 प्रतिकृया