Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


विकासका काम नै मेरो जितको आधार होः मदन सुन्दर श्रेष्ठ

एक्सन खबर
बैशाख, २३, २०७९


विकासका काम नै मेरो जितको आधार होः मदन सुन्दर श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाको मेयरमा एमालेका तर्फबाट मदन सुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी मध्यपुर थिमिको निवर्तमान मेयर हुन् । पेसाले सिभिल इन्जिनियर रहेका उनी शंखधर मेमोरियल स्कुलका फाउन्डर प्रिन्सिपल हुन् । कानुनमा स्नातक तह, व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन गरेका श्रेष्ठलाई मध्यपुर थिमिवासीले मत किन दिने, फेरि मेयरमा उम्मेदवारी दिनुको कारणसहित गरिएकाे कुराकानीकाे संक्षेप :

दाेश्राे कार्यकालका लागि जनताका माझ पुनः मत माग्दै हिँड्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

पाँच वर्षको कार्यकाल पूरा गरेर मेयर पदबाट राजीनामा दिएँ । फेरि मेयरमै उम्मेदवारी दिएको छु । पहिलो पाँच वर्षमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनताबाट राम्रै उत्साह र फेरि दोहोरिनुपर्छ भन्ने भावना पाएको छु ।

तपाईंले गरेका आफ्ना प्रमुख कामहरूलाई सम्झनु पर्दा कुन कुन कामहरू सम्झनु हुन्छ ?


कामहरू त धेरै भए । तर, आफूले गरेका कामहरू मध्ये ५/६ वटा कामहरू देखिने भन्ने गरेको छु । अरू आमरुपमा बाटाघाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू भई नै गयो । देखिने काम भनेको सङ्घीयता कार्यान्वयनको कामहरू भयाे । ७५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ, जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनबोर्डसम्म  मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छाैँ र त्यहीअनुसार पत्राचार गर्ने गर्छाैं । संघीयताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौं, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ । नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि गर्‍याैँ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पीसीआर ल्याब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो । आईसीयू व्यवस्था गर्नेदेखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरू कुशलतापूर्वक गर्न सक्यौ ।

अर्काे राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन हो । हामीले जापनीज प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोरमैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्याैँ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौं । सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई  व्यवस्थित सहरीकरण गर्नुपर्छ भनेर काम गरिरहेका छौं ।

सबैभन्दा बढी जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्ने नगरपालिकाको रूपमा छौं । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौं । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौं भने नयाँ सातवटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौं । हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल गर्‍याैँ भन्ने लाग्छ ।

अब फेरि नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ?


जुन विकास निर्माणका अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्नेछु । सम्पदा बस्तीहरू जुन रुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै नयाँ बस्तीहरू व्यवस्थित सहरीकरण गर्ने कामलाई दोस्रो प्राथमिकतामा राखेको छु । अस्पताल सञ्चालनको काम पनि छ ।

कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाट समेत पास भएर आइसकेको छ । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौं । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्नेछौँ । नर्सिङ कलेज समेत सञ्चालन गर्नेछौं । फोहोरमैला व्यवस्थापनको लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाको लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नुपर्छ भनेर योजना बनाएको छु ।

तपाइँ (एमाले) विरुद्ध गठबन्धन बनेको छ, जितका आधार के हुन् ?

मैले जित्ने आधार भनेको पाँच वर्षसम्म इमान्दारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो हाम्रो सङ्गठन हो । पाँच वर्षअघि संठनात्मक रूपमा म कमजोर थिएँ, त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिएँ । आज कांग्रेस कमजोर भएको छ, उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ ।

कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ । हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ । यो गठबन्धनका नाममा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन् । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले बहुमत सदस्यसहित जित्ने छाैं ।
 













0 प्रतिकृया