गढी गाउँपालिकामा विकासको युगको थालनी गर्न आश नारायण चौधरीको टीम अपरिहार्य
एक्सन खबर
दुहवी । गढी गाउँपालिका क्षेत्रको विकासकालागि नेतृत्व
परिवर्तन अपरिहार्य भएको भन्दै नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती
चौधरीले बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा एमालेका
उम्मेदवारलाई भारी मत दिन अनुरोध गरेकी छन् । पटकपटक विकास र समृद्धिको
नारा लगाएर सत्तामा गएकाहरुले गढी तथा सुनसरी क्षेत्र नं. ३ को विकासमा
कुनै ठोस काम नगरेको भन्दै चौधरीले यसपटक गढी गाउँपालिकाको विकासको लहर
ल्याउन पनि एमालेलाई जिताउनु पर्ने बताइन् ।
गढीमा आयोजित चुनावी
कोण सभालाई संवोधन गर्दै नेतृ चौधरीले यसपटक पार्टीले शिक्षा र आर्थिक
क्षेत्रमा लामो समय काम गरेका अनुभवी व्यक्तिलाई चुनावमा उठाएको दावी गर्दै
नेतृत्व राम्रो भएमात्र जनताले सुख पाउने बताइन् । ‘जसरी कुनैपनि संस्था
सफल बन्न त्यसको नेतृत्व राम्रो हुनुपर्छ त्यसरी नै स्थानीय शासन चलाउन
योग्य, दक्ष र अनुभवी व्यक्ति चाहिन्छ । यसपटक तपाई हाम्रै घरगाउँका लामो
समय शिक्षण पेशा र वित्तीय क्षेत्रमा काम गरेका उम्मेदवार आउनु भएको छ ।
गढीको विकास गर्नकालागि उहाँको जित अत्यावश्यक छ ।’ उनले भनिन् ।
गढीको
विकास गर्न शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, युवा केन्द्रीत
कार्यक्रमहरु योजनाबद्ध रुपमा ल्याउनु पर्ने र त्यो काम नेकपा एमालेको
सरकारले मात्र गर्नसक्ने चौधरीले जिकीर गरिन् । ‘एमालेले यसपटक यहाँहरुको
विकासको चाहना र सपनालाई पुरा गर्न तपाईंहरुकै चाहना र अनुरोधमा आश नारायण
चौधरीलाई पठाएको छ । झण्डै तीन लाख महिला सदस्य रहेको संस्थाको सफल नेतृत्व
गर्नुभएका, १० वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुनुभएका अनुभवी
युवालाई जिताउनु भयोभने गढीको विकास मात्र हुँदैन, तपाई हामी सबैको
जिवनस्तर समेत सुध्रिनेछ ।’ चौधरीले भनिन् ।
नेकपा एमालेले
स्थानीय तहको निर्वाचनमा स्थानीय क्षेत्रको माग, आवश्यक्ता हेरेर योग्य
उम्मेदवारहरु छनौट गरेको बताउँदै भगवती चौधरीले गढीलाई देशकै नमूना
गाउँपालिका बनाउन पनि एमालेलाई जिताउनु पर्ने बताइन् । विगतमा विभिन्न
जालझेल तथा सड्यन्त्र गरेर सत्तामा गएकाहरुले भ्रष्टाचार र कूशासन मात्र
गरेको तर्क गर्दै नेतृ चौधरीले यसपटक जनतालाई मुलुकको विकास गर्न नयाँ अवसर
आएको भन्दै त्यसलाई खेर जान नदिन आग्रह गरिन् ।
नेकपा एमालेले
मात्र मुलुकको विकास र समृद्धि चाहेको दावी गर्दै चौधरीले एमालेले
बृद्धबृद्धाहरुलाई सम्झिएको, आफ्नो गाउँ आफैं बनाउँ भन्दै स्थानीय तहलाई
बढीभन्दा बढी अधिकार दिएको तथा गाउँगाउँमा आर्थिक शसक्तिकरणका अभियानहरु
ल्याएको पनि बताइन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सुनसरी
जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीले गढी गाउँपालिकाको विकासका लागि
अहिलेको निर्वाचनमा उम्मेदवारी दिएकाहरु मध्ये आश नारायण चौधरी जत्तिको
योग्य, इमान्दार र क्षमतावान व्यक्ति कोही नभएको दावी गरे । साथै एमालेले
उठाएका सबै उम्मेदवारहरु योग्य भएको बताउँदै भण्डारीले विगत लामो समयदेखि
गढीले कांग्रेसलाई जिताएपनि कुनै काम गर्न नसकेको बताए । ‘०७४ सालको
निर्वाचनमा कांग्रेसबाट श्रीप्रसाद यादवले जित्नु भयो, तर खै उहाँले यो ५
वर्षका ३ सय करोड रुपैंयाले के विकास गर्नु भयो ?’ भण्डारीले यसको समुचित
जवाफ जनताले बैशाख ३० गते दिने पनि जिकीर गरे ।
स्थानीय तहको
निर्वाचनमा देशभरबाट एमालेका उम्मेदवारहरुले ऐतिहासिक जित हासिल गर्ने दावी
गर्दै भण्डारीले गढी गाउँपालिकामा विकासको युगको थालनी गर्नपनि एमालेका
उम्मेदवारलाई जिताउनु पर्ने जनाए ।
कोण सभामा बोल्दै नेकपा
एमालेबाट गाउँपालिका प्रमुखका उम्मेदवार आश नारायण चौधरीले आफ्नो
जन्मभूमीको सेवा गर्न सुविधा सम्पन्न जागिर छाडेर आफु राजनीतिमा आएको
बताउँदै गढीको विकासमा आफु दिनरात नभनी काम गर्ने बताए । गढी गाउँपालिकामा २
वटा ऐतिहासिक गढीहरु रहेको चर्चा गर्दै ती क्षेत्रहरुको संरक्षण गर्दै
व्यवस्थित पर्यटकीय क्षेत्र बनाउने आफ्नो योजना रहेको बताए । ‘गढी
गाउँपालिकालाई नमुना पालिका बनाएर यहाँका जनताको जिवनस्तर उकास्ने गरी काम
गर्ने मेरो प्रतिबद्धता छ ।’ चौधरीले भने ।
गढीलाई समृद्ध पालिका
बनाउने अभियान अनुसार आफ्नो टीमले यहाँको शिक्षा, स्वास्थ्य, सडक, खेलकुदका
पूर्वाधार, गढी रिङ रोडको अवधारणा तयार पारेको बताए । गढीका ६ वटै
वडाहरुमा कालोपत्रे सडक निर्माण गर्ने, प्रत्येक वडाहरुमा बृद्धबृद्धाहरुका
लागि पार्क निर्माण गर्ने, सबै वडाहरुमा स्वच्छ खानेपानी पुर्याउने,
पालिकामै सुविधासम्पन्न अस्पताल निर्माण गर्ने लगायतका योजनाहरु बनाएको
जनाए । संघ तथा प्रदेश सरकारबाट निर्माण भइरहेका सडक, हुलाकी मार्ग लगायतका
कार्यक्रमहरु समयमै सम्पन्न गराउन तथा ती कार्यक्रम मार्फत बढीभन्दा बढी
स्थानीयले कसरी लाभ लिन सक्छन् भन्नेमा आफ्नो जोड रहने बताए ।
गढीको
खेलकुद मैदानको विकास गरी रंगशाला निर्माण गर्ने, युवाहरुमा रहेको प्रतिभा
प्रस्फुटन गराउन विशेष योजना बनाउने, शैक्षिक क्षेत्रको स्तरोन्नतीको लागि
विद्यालय सुधार योजना बनाउने, गाउँमै प्राविधिक शिक्षा अध्ययनका लागि
प्राविधिक विद्यालयको स्थापना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक
कार्यक्रम ल्याउने, महिला हिंसा, बालश्रम न्यूनीकरणका लागि अभियान चलाउने
प्रतिबद्धता जनाए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षकी उम्मेदवार
अनिता साहले ५ वर्षको अवधिमा आफु गढी गाउँपालिकाको विकास र सुशासनको पथमा
लैजान आफु सक्रिय रहने बताइन् । महिला माथिको विभेद, महिला हिंसा विरुद्ध
सक्रिय रहेर सामाजिक, आर्थिक, सांस्कृतिक विभेदहरु अन्त्यको लागि लागि
पर्ने बताइन् । कार्यक्रममा गढीका सयौं स्थानीय बासीहरुको सहभागीता रहेको
थियो ।
0 प्रतिकृया