एमालेलाई जिताए धरानकाे विकासकाे जिम्मा लिनेछुः केपी शर्मा ओली
एक्सन खबर
धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहकाे निर्वाचनमा धरानमा एमालेलाई जिताए धरानको बिकासको जिम्मा आफूले लिने बताएका छन् ।
आज धरानमा एमाले चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देशकै बिकासको जिम्मा नेकपा एमालेले लिएको बताउँदै धरानमा एमालेबाट उठेकी मञ्जु भण्डारी आफनी छोरी नै भएको भन्दै धरानको बिकासको जिम्मा आफुले लिने बताएका हुन् ।
चितवनमा चुनावी प्रचार सभालाई प्रचण्डले सम्बोधनको क्रममा बोलेका अभिब्यक्तिहरू जनतालाई धम्की दिएको तर्क गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परीणाम आएपछि सत्ता गठबन्धन दलहरू पाखा लाग्ने पनि जिकीर गरे ।
उनले प्रचण्ड नेवारी भाषामा भनेजस्तै माकाफुई भएको भन्दै प्रचण्डले बाँदर जस्तै रुखमा चढेर हाँगा हल्लाएर जनतालाई देखाएको बताए । आफु भोली चितवन जाने र चितवनको जनतालाई प्रचण्डकी छोरी रेनु दाहाललाई भोट नहाल्न आग्रह गर्ने पनि बताए ।
ओलीले राष्ट्रियता बोकेको एक मात्र पार्टी एमाले भएको र जनताले सुर्य बाहेक अरु कुनै चिन्हमा भोट नहाल्ने पनि दावी गरे । देशैभरका स्थानीय तहको निर्वाचन जित्ने दाबी गर्दै निर्वाचन पश्चात् सत्ता गठबन्धन दलका नेताहरुको खटपटी बढ्ने पनि दावी गरे ।
ओलीले चुनावी आमसभामा सम्बोधनको क्रममा अधिकांश समय सत्ता गठबन्धन दलका नेताहरुको आलोचना गर्दै गठबन्धन दलको चुनाव चिन्ह कुन हो भन्ने कुरामा अलमलमा परेको बताए । गठबन्धनमा रहेका दलहरु कोही ओरालो लागेका, कोही आफनै पार्टीलाई लात मारेर अर्काको घर बनाउन गएका भन्दै जनाधार नै नभएकाहरु एक ठाउँमा उभएिकाहरूलाई भरोसा नगर्न जनतालाई आग्रह पनि गरे ।
उनले राष्ट्रियताको सवालमा एमाले सदैव एक्लै भएपनि उभिने बताउँदै देशको विकास भन्दा पनि सरकार कसरी टीकाउने भन्ने ध्याउन्नमा रहेका पार्टीले मुलुकका लागी केही गर्न नसक्ने ठाेकूवा पनि गरे ।
एमाले सबैको साझा पार्टी भएकोले धरानको ऐतिहासिक, पुरातात्विक महत्त्वका मठ मन्दिर लगायतहरुलाई संरक्षण गर्दै धरानलाई पर्यटकीय गन्तव्यको स्थल बनाउन प्रतिबद्ध रहेको जनाए ।
नेकपा एमाले चुनाव प्रचार प्रसार समिति धरानको आयोजनामा भएकाे चुनावी सभामा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदी, उपमेयर पदम सुब्बा इस्वो, धरानका २० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरू लगायत जिल्लाका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
0 प्रतिकृया