अहमदलाई २०७८ सालकाे राष्ट्रिय पत्रकारिता पुरस्कार
एक्सन खबर
काठमाडाैं । पत्रकारिता क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै इनरूवाका पत्रकार इकवाल अहमद राष्ट्रिय पत्रकारिता दिवस २०७९ को अवसरमा सम्मानीत भएका छन् ।
सुनसरीकाे इनरुवा कार्यक्षेत्र बनाएर २५ वर्षदेखी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय इनरुवा–२ निवासी इकवाल अहमद शनिबार राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत एवं सम्मानित भएका हुन् ।
राष्ट्रिय पत्रकारिता दिवस २०७९ को अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच पत्रकार अहमदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाखको पुरस्कार राशी सहित सम्मान गरेकी छन् ।
२०५४ सालदेखी निरन्तर नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार अहमद मुलुकका आधा दर्जन बढी सञ्चार माध्यमहरुमा काम गरिसकेका छन् । विगत आठ वर्षदेखी सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित भइरहेको प्रतिक्षण दैनिकको प्रकाशक तथा सम्पादकको रुपमा हाल कार्यरत छन् । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य रहेका तथा नेपाल पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्य समेत हुन् ।
अब्दुल अजिज अहमद तथा स्वर्गिय इमराना खातुनको प्रथम सुपुत्रको रुपमा २०३६ साल फागुन २ गते जन्मिएका अहमद यसअघि बिभिन्न पुरस्कारहरुबाट पुरस्कृत एवं सम्मानित हुँदै आएका छन् । अहमद नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत भइसकेका छन् ।
राष्ट्रिय पत्रकारीता पुरस्कार २०७८ का लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित सो पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा अहमदलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा देशका बिभिन्न स्थानमा रही लामो समयसम्म पत्रकारीता गर्दै आएका अन्य ६ जनालाई वरिष्ठ पत्रकारीता सम्मान समेत गरिएको छ । अहमदसँगै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकारहरु डी.आर पन्त, ठाकुर बेल्बासे, बालकुमार नेपाल, गंगा बराल र सम्झना वन समेत पुरुस्कृत भएका छन् ।
यससँगै कोरोना महामारीका कारण वितरण हुन बाँकी रहेको २०७६ र २०७७ को राष्ट्रिय पत्रकारिता पुरस्कार समेत सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पत्रकारहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरेकी थिइन् ।
२०७६ सालको वरिष्ठ पत्रकार सम्मान सुनसरी धरानका हर्ष सुब्बा र काठमाडौंका स्वर्गीय अग्नि शिखालाई मरणोपरान्त प्रदान गरिएको छ। २०७७ सालको वरिष्ठ पत्रकार सम्मान रघु मैनाली र शार्दूल भट्टराईलाई र २०७८ वरिष्ठ पत्रकार सम्मान किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरिएको छ।
सोही अवसरमा २०७६ को राष्ट्रिय पत्रकारिता पुरस्कार इन्द्रमान बुढा (उजिर मगर), मातृका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विके, शीतल साहलाई प्रदान गरिएको छ । २०७७ सालको पुरस्कार दिलीपकुमार थापामगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरेश जङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ ।
0 प्रतिकृया