Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


कांग्रेसमाथि ओलीको प्रहार: काँग्रेसकै कारण सशस्त्र द्वन्द्व भएको हाे

एक्सन खबर
बैशाख, २५, २०७९


कांग्रेसमाथि ओलीको प्रहार: काँग्रेसकै कारण सशस्त्र द्वन्द्व भएको हाे

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनकाे आरोप छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ ।

‘२० वर्ष एकल सरकार चलायो । सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन,’ ओलीले भने । कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ ।

‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने ।

नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ । विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ ।

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । ‘कांग्रेस बरू राणासँग घाँटी जोड्न तयार भयो । दक्षिणपन्थीहरूसँग घाँटी जोडेर सरकार चलाइरहेको छ । उसलाई लज्जाबोध हुँदैन । तर, हामी जनताभन्दा ठूला कोही छैन भन्नेमा हुन्छौं तसर्थ, हामी जनताको बीचमा रहन्छौं,’ ओलीले भने ।

ओलीले काँग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेकाे मात्र भनेका छैनन् कांग्रेसले यस्तो सोच्नुपनि अपराध ठानेकाे जनाएका छन् । कांग्रेसले बरू राणाशाहीसँग सहकार्य गरेको इतिहास रहेकाे भन्दै ओलीले भनेका छन्-‘नेपाली काँग्रेसले निरङ्कुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ । काँग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’  ओलीले भनेका छन् ।

कांग्रेसले अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकाे भन्दै ओलीले कांग्रेस जनादेशमा विश्वास नगर्ने पार्टी रहेकाे तर्क गरेका छन् । ‘कांग्रेस सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम् उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन । ऊ जनतामाथि विश्वास गर्दैन ।’ ओलीकाे तर्क छ ।

कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे । कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए । ‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको छ । त्यस्तै अब कम्तीमा दुई अवधि पाँच पाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन हार्दिक अनुरोध गर्दछुु,’ ओलीले भने ।

कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ओलीले आग्रह गरे । ‘जनताको विश्वास दिलाउनको लागि गठबन्धन चाहिँदैन । कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहनु भएका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्दछौं,’ ओलीले भने । उनले नयाँ मतदातालाई समेत जीवनको पहिलो मतदान सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।













0 प्रतिकृया