Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


रनिल विक्रमासिंघेः दुई वर्षपछि श्रीलंकाको राजनीतिमा कम ब्याक

एजेन्सी
बैशाख, ३०, २०७९


रनिल विक्रमासिंघेः दुई वर्षपछि श्रीलंकाको राजनीतिमा कम ब्याक

कोलम्बो । वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ ।

विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्रीका रूपमा पनि निर्वाचित भएका थिए ।

तर, चन्द्रिका कुमारतुंगाले मध्यावधि निर्वाचन आह्वान गरेपछि सन् २००४ मा उनी सत्ताच्युत भएका थिए । प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा उनले लिबरेसन टाइगर्स अफ तमिल इलम (एलआइटीटीई) सँग शान्ति वार्ता सुरु गरेर सत्ता साझेदारी सम्झौताको प्रस्तावसमेत गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो कार्यकालमा भारतसँग घनिष्ट सम्बन्धको अपेक्षा गरेको बताउँदै आर्थिक संकटको सामना गर्न भारतले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिएका छन् ।

विक्रमासिंघेले बिहीबार देशको २६औँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । कोलम्बोस्थित भारतीय उच्चायोगले विक्रमासिंघेलाई  स्वागत गर्दै राजनीतिक स्थायित्वको आशा राखेको र प्रजातान्त्रिक प्रक्रियाअनुसार बनेको श्रीलंका सरकारसँग काम गर्न तत्पर रहेको  जनाएको छ । ‘श्रीलंकाका जनताप्रति भारतको प्रतिबद्धता जारी रहनेछ’,  उच्चायोगले ट्वीटमा भन्यो ।













0 प्रतिकृया