आज बुद्ध जयन्ती, राष्ट्रपतिद्वारा शुभकामना
एक्सन खबर
काठमाडाैं, २ जेठ । २ जेठ, २०७९ सोमबार । तद्नुसार मे महिनाको १६ तारिक २०२२ । वैशाख शुक्लपक्ष चण्डीपूर्णिमा बुद्ध जयन्ती, गोरखनाथ जयन्ती र बैशाखस्नान समाप्ति समेत छ । बौद्ध धर्ममा प्रवर्तक भगवान गौतमबुद्धको आज जन्मजयन्ती हो ।
देशभर बौद्ध गुम्बा र लुम्बिनीमा विशेष पूजा आराधना हुने गर्दछ । आज बिहान सूर्योदय ५:१५ मा भएकाे छ भने सूर्यास्त ६ः४७ मा हुनेछ ।
बब, करण, विशाखा नक्षत्र वरीयान योग र चन्द्रमा तुला राशिमा रहेको छ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । आज पूर्णिमा र सोमबार समेत परेकाले आजको दिन विशेष दिन मान्न सकिन्छ ।
आज बिहानदेखि रात्रीसम्मको कुनै पनि समय देवालय र शिवालय यात्रा फलदायी हुनेछ । विशेषगरी सोमबारको दिन शिवालय जाने प्रचलन छ । पूर्णिमाको साँझ पशुपतिनाथ मन्दिरमा विशेष पूजा आरधना हुने गर्दछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डरीले आज जारी गरेको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त आह्वान गरेकी हुन् ।
“मुलुकभर छरिएका चैत्य, गुम्बा, विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्विकस्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पुर्याउनु आवश्यक छ,” सन्देशमा भनिएको छ, “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।”
प्राचीन बौद्ध सभ्यताको उद्गमस्थल भएको हुनाले नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर विद्यमान हुँदा समुचित उपयोग गर्नुपर्ने उनको भनाइ छ । “बुद्धका उपदेशको पालना एवं अनुसरण गरी हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिन्छ,” सन्देशमा भनिएको छ, “समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।”
सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको भन्दै नेपाली भूखण्डमा प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्चस्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट परेको बताइएको छ ।
0 प्रतिकृया