धरान ५ मा एमालेकाे अग्रता, मेयरमा गठबन्धन अगाडी
एक्सन खबर
धरान । सुनसरीको धरानमा जारी मतगणनामा वडा नं ५ को १९ सय मत गन्दा वडाध्यक्षमा नेकपा एमालेकै अग्रता देखिएको छ । एमाले उम्मेद्वार मनप्रसाद लिम्बुले ६९४ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ६३२ मतले पछयाईरहेका छन् । माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ४३५ मत प्राप्त गरेका छन् । यसैगरि, मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ६७३ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार मञ्जु भण्डारीले ४७७ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३८३ मत प्राप्त गरेका छन् ।
धरानमा हालसम्ममा ११ हजार ४८ मतगणना सकिँदा मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतकाे कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले ३५४५ मत प्राप्त गरेका छन् ।
एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले २६७९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २५२० मत प्राप्त गरेका छन् । शुरुवातदेखि दोस्रो स्थानमा रहदै गठबन्धन उम्मेद्वारलाई पछ्याइरहेका साम्पाङ अहिले तेस्रो स्थानमा झरेका छन् ।
त्यस्तै उपमेयरतर्फ पनि गठबन्धन उम्मेद्वार अइन्द्र बिक्रम बेघा ३८७९ मतका साथ अगाडि छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ३३१९मत प्राप्त गरेका छन् ।
सुनसरीमा १२ स्थानीय तह निर्वाचन क्षेत्र भएको मध्ये धरान क्षेत्रलाई निकै चासोका साथ लिईएको छ । धरानको वडा नं १ मा ३१ सय ४९ मत मतदाता रहेकाेमा कुल १९ सय ३९ मत खसेकाे थियाे । वडा नं २ मा २३ सय ६ मतदाता भएकोमा कुल मत १४ सय ८० मत खसेकाे थियाे । वडा नं ३ मा ३१ सय २१ मतदाता रहेकोमा १९ सय ८७ मत र वडा ४ मा २३ सय ९० मतदाता रहेकोमा १७ सय ४२ मत खसेको थियो ।
ती सबै बडाको मत गणना सम्पन्न हुँदा धरान वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को वडाअध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य विजयी भएका छन् । वडा २ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेबाट वडाध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी भएका छन् ।
यता वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १०४२ मत पाउँदा पराजित पाख्रिनले ६२५ मत पाए ।
त्यस्तै वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर राईले ८२६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे ।
0 प्रतिकृया