धरान उपमहानगरपालिकामा रुख र सुर्यलाई लौरोको चुनौती
एक्सन खबर
सुनसरी । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । नेकपा एमालेलाई तेश्रो स्थानमा खुम्च्याउँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पहिलो स्थानमा रहेका गठबन्धनका उम्मेदवार किशोर राईलाई समेत कडा चुनौती दिइरहेका छन् ।
आज विहान १०ः३० बजेको पछिल्लो मतगणना अनुसार लौरो चिन्ह भएका साम्पाङले ७८२२ मत प्राप्त गर्दा कांग्रेसका राईको ७८९० मत पुगेको छ । राई साम्पाङ भन्दा मात्र ६८ मतले अगाडी छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीको ६५१९ रहेको छ ।
उपमेयरमा गठबन्धनका उम्मेदवार अगाडी छन् । माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ८८८६ मत प्राप्त गर्दा एमालेका पदम इस्वोले ८५०८ मत प्राप्त गरेका छन् ।
सामाजिक अभियान्ता हर्क साम्पाङको उपस्थितिले धरानमा कांग्रेस, एमालेलाई संकट आइपरेको छ । धरानको मेयरमा जिते आफ्नो कार्यकालमा सप्तकोशीको पानी ल्याएर धरानबासीलाई खुवाउने घोषणा गर्दै चुनाबी मैदानमा उत्रिएका साम्पाङले एमाले र कांग्रेसकै भोट काटिरहेका छन् ।
२०७५ सालको उपनिर्वाचनमा मेयरमै लड्दा ४२२ मत मात्र पाएका साम्पाङले यसपटक खानेपानी कै मुद्दा बोकेर धरानबासीसँग भोट मागेका थिए ।
0 प्रतिकृया