काठमाडौं र धरानमा लाैराेकाे जादू चल्दा पाेखरामा किन चलेन ?
एक्सन खबर
काठमाडौं, ४ जेठ । काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले 'जादू' चलाइरहेका छन् । चुनाव चिह्न लाैराे रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने अड्कल काटिएका अर्का उम्मेदवार भने निकै पछि परेका छन् ।
पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका गनेस पौडेल अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई निकै पछि पारेका छन् । ४७ हजार ४ मत गणना हुँदा साहले १८ हजार २३७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् । बालेनले दोस्रो स्थानका स्थापितसँग ८ हजार ७२० मतान्तर कायम राखेका छन् ।
त्यस्तै धरान उपमहानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लौरो चुनाव चिह्नबाट गठबन्धनका उम्मेदवारलाई जितेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उनले झिनो मत अन्तरसहित अग्रता बनाइरहेका हुन् । साम्पाङले ८१४० मत ल्याएका छन् भने राईले ८१२६ मत गरेका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ने ६७१३ मतसहित पछि परेकी छिन् ।
तर पोखरा महानगरमा भने गनेसको मत कमजोर देखिएको छ । अहिलेसम्म ४१,४२३ मत गणना हुँदा लौरो चुनाव चिह्न रहेका गनेसले १ हजार मत कटाउन सकेका छैनन् । उनले ९२९ मत पाएका छन् । उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पछि रहेका छन् । खरालले १,६९८ मत पाएका छन् । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७,२४२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५,२१० मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १७,४४३ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १७,३४१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १,४३,२२६ मत खसेको थियो ।
यता अटेरी समुहका गनेसले चुनाबी अभियानमा कैयन गल्ती भएकाे, ढंग नपुगेकाे, आफ्नाे पक्षकाे जनमत समेत संहाल्न नसक्दा कम भाेट आएकाे बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पाैडेलले भनेका छन्-'चुनावी अभियानका बेला कैयन गल्तीहरू भए । कतै ढंग पुगेन । कतिपय पालिकामा आफू अनुकूल भएको जनमत समेत सम्हाल्न सकिएन । सच्याउने मनसाय हुँदाहुँदै पनि समय पुगेन ।'
यो चुनावले भरपुर आत्मावलोकन र समीक्षाको अवसर दिएकाे उनकाे बुझाइ छ । पोखराको हकमा जेजस्तो परीक्षा र प्राप्ति हुँदैछ त्यसले रत्तीभर निराश नभएकाे बताउँदै उनले स्थानीय तहको चुनावी अभियानबाट सिकेको पाठ आउँदो प्रादेशिक र संघीय चुनावमा प्रयोग गर्ने बताएका छन् ।
0 प्रतिकृया