Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


गढी गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

एक्सन खबर
जेठ, ९, २०७९


गढी गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

दुहवी । सुनसरीको गढी गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । नवनिर्वाचित गाउँपालिका प्रमुख आश नारायण चौधरीले आज पदधारण गर्दै गाउँपालिकाले पालिका भित्रका विपन्न, पिछडावर्ग, असक्त, असहाय, ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

पालिकाले महिला, दलित, सुत्केरी महिला तथा पूर्णरुपमा अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्यमा पहुँच पुर्याई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ । साथै पालिकाका अन्य नागरिकका हकमा पनि न्यूनतम सेवा लिएर एम्बुलेन्स सेवा प्रदान गर्ने नवनिर्वाचित पालिका प्रमुख चौधरीले बताए ।

‘गढी गाउँपालिकामा एउटै सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि धरान, विराटनगर जस्ता सहरमा जानुपर्ने बाध्यता छ । तर, ती स्थानसम्म बिरामीलाई सहज रुपमा लैजान हामीसँग एम्बुलेन्स पनि नभएकोले आज मैले गढीबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरें ।’ पालिका प्रमुख अध्यक्ष चौधरीले भने ।

यस्तै उनले प्राकृतिक प्रकोप तथा आगलागीबाट प्रभावित जनतालाई तत्कालै राहत दिन व्यवस्था गरिने पनि निर्णय गरेका छन् । भने, पालिका भित्रका जनताहरुको सेवाको लागि २४ सै घण्टा आपतकालिन सेवा प्रवाहका लागि गुनासो संकलन तथा सुनुवाईको व्यवस्था गर्न हेल्प डेक्स तथा टोल फ्रि नम्बर जडान गर्ने निर्णय पनि गरेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुले आगामी ५ वर्षमा गढी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा विकास गर्ने, पालिकाकमा सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, विद्युत, सरसफाई जस्ता विकासका आधारभूत आवश्यक्ताहरु पुरा गर्ने, गाउँमै रोजगारीको अवसर सृजना गर्ने, कृषि, पर्यटन, घरेलु उद्योगहरुको विकास, प्रवद्र्धन गर्ने लगायतका एजेण्डाहरु बनाएका छन् ।

उल्लेखित एजेण्डाहरु आगामी ५ वर्षभित्र प्राथमिकताका आधारमा पुरा गर्दै जाने नवनिर्वाचित पालिका प्रमुख चौधरीले बताए । ‘पालिकासँग सिमित बजेट हुने भएकाले सबै कामहरु एकैपल्ट गर्न संभव छैन । नगरीनहुने अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा अगाडी बढ्ने छौं । उनले भने ।

















0 प्रतिकृया