धरानका मेयर झाडु लिएर आफैं सरसफाईमा उत्रिए
एक्सन खबर
सुनसरी । पदभार ग्रहण गरेको भोलीपल्ट बुधबार मात्रै धरानका मेयर हर्कराज साम्पाङले खानेपानीको मुहान निरीक्षणमा गएकाेमा आज बिहिबार भने हातमा झाडु बोकेर भानुचोक सरसफाई गर्दै ‘सफा धरान स्वच्छ धरान’को सन्देश छरेका छन् ।
सामाजिक अभियान्ता हुँदै स्वतन्त्र उम्मेदवार बनेर भारी मतका साथ धरानकाे मेयरमा निर्वाचित साम्पाङले आज धरानकाे मुख्य बजार भानुचौक घण्टाघर परिसरबाट सरसफाई थालेका छन् ।
नगरपालिका परिसरबाट कर्मचारीहरूलाई समेत थाहै नदिइ भानुचाैक आइपुगेका मेयर साम्पाङले समेत सरसफाई कार्यक्रमकाे जानकारी नै दिएका थिएनन् । एकाएक मेयर भानुचाैक पुगेर सरसफाइमा सरिक भएकाे थाहा पाएपछि कतिपय कर्मचारी नै अलमलमा परेका थिए ।
बिहीबार बिहान भानुचाैक सरसफाई गर्ने भनेर मेयर साम्पाङले आफ्नाे फेसवुक पेजमा त राखेका थिए तर, उपमहानगरपालिकाका कतिपय कर्मचारीले चैं भेउ नै पाएनन् । यद्यपि, मेयर साम्पाङकाे फेसवुक पेज हेरेर नै जानकारी पाएका सर्वसाधारणहरू भने सरसफाई अभियानमा सरिक भए । मेयरका समर्थक र सेवक अभियानको टोली तथा बिभिन्न बैंकका कर्मचारीहरु समेत सरसफाई कार्यक्रममा सहभागी भए ।
फेरी धरानमा आज विहानै वर्षा समेत भयाे । वर्षाको कारण केही ढिलाई भएको सरसफाई अभियानमा मेयर आफैं झाडु लिएर अगाडी सरेपछि भानुचाैकमा सर्वसाधारणकाे भिड लाग्याे । भीडबाटै केहीले ‘मेयर साबको के पारा हो यो । अब सधै आफैं सरसफाइ गर्ने हाे र ? ’ भन्दै प्रश्न पनि साेधिरहेका थिए ।
मेयर राईले आफनो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउने उद्देश्यले आफु सरसफाई अभियानमा सरिक भएकाे बताए । आफुबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसाल्न झाडु बोकेर आएको मेयर साम्पाङकाे भनाइ छ ।
‘मेरो लक्ष्य अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्नुपर्छ भन्ने हो । यसमा म एक्लैले पुरा गर्दिन, सबैको साथ सहयोग चाहिन्छ । मेरो अनुरोध छ, अब उप्रान्त सडकमा केही पनि फोहोर नफालौं ।’ मेयर साम्पाङले भने ।
फोहोर जथाभावी फाल्ने बानी सुधार नभए नियम लगाउने भन्दै उनले त्यो दिन आउनु अघि नै धरानका जनताको बानीमा सुधार आउने अपेक्षा गरेका छन् । धरानमा खानेपानी समस्यासँगै फाेहर व्यवस्थापन अर्काे समस्या हाे ।
0 प्रतिकृया