आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
एक्सन खबर
काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए ।
नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ । यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् ।
गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए । हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ ।
संविधान मिच्ने तत्वलाई जनताले सन्देश दिए
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताए ।
संविधान मिच्न चाहने शक्तिलाई जनतालाई मन नपराएको भन्दै भने–‘संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।’
प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
0 प्रतिकृया