Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


पोखराबाट जोमसोमका लागि १९ यात्रु लिएर उडेको तारा एयर सम्पर्कविहीन

एक्सन खबर
जेठ, १५, २०७९


पोखराबाट जोमसोमका लागि १९ यात्रु लिएर उडेको तारा एयर सम्पर्कविहीन

पोखरा, १५ जेठ । १९ यात्रु लिएर पोखराबाट जोमसोमका लागि उडेको तारा एयर अझै सम्पर्कविहीन छ । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको सात घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएकाे बताए । ‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’

बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेका विमानस्थलले जनाएको छ । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए ।

यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।  प्राधिकरणका अनुसार जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।













0 प्रतिकृया