Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन

एक्सन खबर


अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन

काठमाडौं, १५ जेठ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेको जानकारी दिए ।

दुर्गम क्षेत्रमा खाद्य सुरक्षाको लागि खाद्य भण्डार निर्माण एवम् खाद्यान्न तथा आयोडिनयुक्त नुन ढुवानी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । उद्योग तथा व्यवसायको प्रोत्साहन गर्दै औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्दन गरिने अर्थमन्त्री शर्माले बताए ।

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री  शर्माले भने, ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं ।’

उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने  र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए ।  कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने जनाए ।

चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए । उद्योग स्थापनाको लागि सरकारले ५० वर्षको लागि जग्गा दिने व्यवस्था मिलाउने भएको छ ।

 अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन


यस्तै, सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । अर्थमन्त्री शर्माका अनुसार बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण हुनेछ ।

हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ । साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिए ।
 
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने

सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, विविध जनजातिका मुख्य थलोलाई विशेष पर्यटकीय स्थलका रुपमा विकास गरिने बताए ।

यस्तै निजी क्षेत्रलाई पर्यटन उद्योगमा आर्कषण गराउन विविध कार्यक्रम ल्याउने, साहसिक पर्यटनका लागि हिमाली भेगमा हिलस्टेन निर्माणका लागि ९० करोड बजेट विनियोजन गरेको बताए । उनले हिमाल आरोहणमा जाने पर्यटकलाई सहज होस् भनेर पदमार्ग निर्माण र पदमार्ग क्षेत्रमा सञ्चारको सुविधा मिलाइने बताए ।

कोभिड महामारीबाट प्रभावित पर्यटन उद्योगलाई एक वर्षको नवीकरण शुल्कमा छुट दिएको पनि उनले बताए । उनले ग्रेट हिमालयल ट्रेलको प्रर्वद्धन र विकासका लागि ३३ करोड बजेट विनियोजन गरेको पनि बताए ।

साहसिक पर्यटनका लागि विश्व प्रसिद्ध सगरमाथा क्षेत्रमा संग्रहालय स्थापना, हिमाली भेगमा संग्रहालय, काठमाडौंमा नेवा संग्रहालय स्थापनाका लागि पनि बजेट विनियोजन गरेको उनले बताए । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, खानेपानी, ढलको व्यवस्थामा पनि जोड दिएको उनले बताए ।













0 प्रतिकृया