‘यहाँ काेही चिनिने अवस्थामा छैनन्’ स्थानीय शेरचन
एक्सन खबर
पोखरा, १६ जेठ । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।
उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’
उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।
इन्धन सकिएपछि सेनाको हेलिकोप्टर जोमसोममै
तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए । ‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’ उनले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिए ।
आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ ।
0 प्रतिकृया