Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


एमाले–कांग्रेसलाई फ्लोर क्रसको त्रास, जनप्रतिनिधिलाई राखियो रिसोर्टमा

एक्सन खबर
जेठ, १८, २०७९


एमाले–कांग्रेसलाई फ्लोर क्रसको त्रास, जनप्रतिनिधिलाई राखियो रिसोर्टमा

पोखरा, १८ जेठ । पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ ।

संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुनेछन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन् ।

३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन ।

उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् । निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने कांग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ ।

एमालेले सोमबार देखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो । कांग्रेसले पनि मंगलबार होटलमा पुर्याएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेद्वार बनाएको छ । दलित तथा अल्पसंख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन् ।

कांग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसंख्यकमा कांग्रेसले उम्मेद्वार उठाएको छैन । गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् ।

सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्छ । एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ । कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ ।

बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगरसभामा समेत गठबन्धनले बहुमत पुर्याउन सक्छ ।













0 प्रतिकृया