Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्नेमा प्रहरी महानिरीक्षककाे जाेड

एक्सन खबर
जेठ, २०, २०७९


कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्नेमा प्रहरी महानिरीक्षककाे जाेड

काठमाडौं । विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधिको साथै सामाजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरू कठोर रूपमा प्रस्तुत हुनुपर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बताएका छन् ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, मातहत ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।

तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा सिंहले जोड दिए ।

प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन पनि दिए । हालै एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जनाए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिएका थिए ।
 
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी. लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।













0 प्रतिकृया